झीङखानी महिला बचत तथा ऋण सहकारीको आठौँ साधारण सभा सम्पन्न

  • २२ माघ २०७७, बिहीबार
  • 966 पटक पढिएको

म्याग्दी २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको झीङखानी महिला बचत तथा ऋण सहकारी सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गंगा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरणको लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले समेत महिलाहरुद्धारा सञ्चालित सहकारीहरुको क्षमता अभिबृद्धि र संस्थागत विकासमा सघाउने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता ओम छन्त्याल, गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, स्वास्थ्य संयोजक टिका शाही, कोभिड अस्पतालका डाक्टर सन्तोषकुमार बोहोरा, रितुङ माविका प्रअ खिम छन्त्याल, वडा सदस्य प्रिती गर्वुजा लगायतले मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष चनकुमारी छन्त्यालले आर्थिक र सचिब गिता छन्त्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य र सरसफाईका सामाग्री वितरण गरिएको थियो भने उत्कृष्ट कारोबारकर्ताहरुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा डाक्टर र स्वास्थ्यकर्मीको टोलीले स्थानीयबासीको सुगर प्रेसर लगायतको स्वास्थ्य परिक्षण समेत गरेका थिए । कुल रु १७ लाख ७६ हजार ७ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न क्षेत्रमा रु १ करोड ७ लाख ९३ हजार ६६ कारोवार गरेको जनाएका रितुङ माविका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।