संसद विघटनको विरोध र समर्थनमा म्याग्दीका नेताहरुको घम्साघम्सी (भिडियो)

  • १६ माघ २०७७, शुक्रबार
  • 1857 पटक पढिएको

म्याग्दी १६ माघ । म्याग्दीका राजनीतिक दलका नेताचहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको विरोध र समर्थनमा कडा जबाल जबाफ गरेका छन् । नेपाल पत्रकार महासंघ म्याग्दीको सातौँ साधारण सभा कार्यक्रममा अतिथिको रुपमा सहभागी नेपाली काँग्रेसका जिल्ला उपसभापति माधव प्रसाद रेग्मी र नेकपा (प्रचण्ड–नेपाल पक्ष) का नेता बालकृष्ण सुवेदीले संसद विघटनको विरोध गरेका हुन् भने नेकपा (ओली पक्ष) का नेता हरिकृष्ण श्रेष्ठले ओलीको कदमको बचाउ गरेका थिए ।


कार्यक्रममा पहिले बोलेका नेता रेग्मीले अहिलेको प्रतिगमन विरुद्धको आन्दोलनले असंवैधानिक तवरले विघटन गरिएको संसद पुर्नस्थापना गर्ने विचार व्यक्त गरे । ‘दायाँबायाँ केहि छैन, संसद पुर्नस्थापना नै अन्तिम लडाई हो, ओलीको कदम संविधानमाथिको प्रहार हो’’–उनले भने । रेग्मीपछि बोलेका नेकपाका युवा नेता समेत रहेका नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले जनताको पसिनाबाट सत्ताभोग गरिरहेका प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण तवरले प्राप्त संविधानलाई च्यात्ने काम गरेको धारणा राखे । उनले ओलीले जनताको भावनामाथि धोका दिएको र ताजा जनादेशमा जाने नाटक गरिएको बताउँदै उक्त कदमको विरुद्धमा उभिन साहस गर्नुपर्ने बताए ।

 

 

‘‘जिल्लामा सामाजिक संघ संस्थाहरुले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ,ओलीको कदम ठिक हो भने ठिक भनौ, बेठीक हो भने बेठिक भनौँ, राष्ट्र अप्ठ्यारोमा परेको बेलामा सामाजिक संघ संस्थाहरु बोल्नुपर्छ’’–सुवेदीले भने । ज्ञानेन्द्रको कु विरुद्ध पनि हातमा गन्न मिल्ने व्यक्तिहरुबाट आन्दोलन सुरु भएको र पछि आन्दोलनबाटै मुलुकमा व्यवस्था परिवर्तन भएको बताउँदै नेता सुवेदीले संविधानमाथि कुल्चने कामलाई जनताले माफि नदिने बताए । रेग्मी र सुवेदी लगत्तै बोलेका नेकपा म्याग्दीका सचिब समेत रहेका नेता हरिकृष्ण श्रेष्ठले भने ओलीको कदमको बचाउ गरे । उनले विगतमा पनि संसद विघटन भएको स्मरण गर्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा संसद विघटनको अधिकार रहेको जिकिर गरे । ‘‘ संसद विघटन संवैधानिक हो की असंवैधानिक यसको छिनोफानो सर्वोच्चले गर्छ , प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि ताजा जनादेशमा जाने कुरा अलोकतान्त्रिक हुन सक्दैन’’–उनले भने ।