कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोपले जगायो उत्साह (भिडियो सहित)

  • १५ माघ २०७७, बिहीबार
  • 1871 पटक पढिएको

म्याग्दी १४ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियानले उत्साह बढाएको छ । नेपाल सरकारले भारतबाट ल्याएको उक्त खोपको जिल्ला स्तरमा समेत उपलब्ध हुन सुरु भएसंगै कोरोना महामारीबाट जनजिवनलाई सामान्य बनाउनतर्फ आम नागरिकमा आसा र उत्साह बढाएको हो ।

म्याग्दीमा बुधवारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंतिमा रहेर कोभिड विरुद्ध खटिने व्यक्तिहरुलाई खोप लगाउन सुरु गरिएको छ । बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले खोप लगाएर सुभारम्भ गरिएको पहिलो दिन १ सय ३० जनाले खोप लगाएका छन् । अस्पतालका अन्य चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंमसेविक सहित कोरोना बिरुद्धको फ्रन्टलाइनमा सक्रिय गरी ९७ महिला र ३३ पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । पहिलो चरणको खोप अभियान जारी छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा पहिलो चरणमा ९४ भायल खोप जिल्लामा ल्याईएको हो । म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने जनाईएको छ ।खोप अभियानको जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा जिसस प्रमुख केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख सम्भु ज्ञवाली र बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले खोपले आम नागरिकमा कोरोना त्रासलाई कम गराएको बताउँदै खोप लगाएका व्यक्तिहरुले समेत स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कोरोनाविरुद्धको खोप लगाउनुभएका डा. कँडेलले कोभिशिल्ड खोप प्रभावकारी रहेकाले ढुक्क भएर खोप लगाउन अनुरोध गर्नुभएको छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकको भनाई छ । नेपाल सरकारले विशेष पहल गरेर भारतबाट अनुदानमा १० लाख खोप प्राप्त गरेको थियो । उक्त खोपलाई पहिलो चरणमा देशभरका स्वास्थ्यकर्मी र अग्रपंतिमा खट्ने व्यक्तिहरुलाई लगाउन सुरु गरिएको छ ।