जलजला गाउँपालिकाद्धारा आमा समुहलाई ढुना–टपरी बनाउने मेसिन सहयोग

  • १३ माघ २०७७, मंगलवार
  • 1632 पटक पढिएको

बेनी १३ माघ । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई ढुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले ढुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष गर्बुजा पुनले ढुना –टपरीको व्यवसायी मार्फत महिलाहरुलाई उधमशिल बनाई उनिहरुको जिविकोपार्जनमा सघाउने उद्धेश्यले गाउँपालिकाले विद्युतीय मेसिन सहयोग गरिएको बताउनुभयो । उहाँले आवश्यकता अनुसार थप सहयोग गर्ने बताउनुभयो । ‘वनमा खेर गइरहेको पातको प्रयोगबाट ढुना– टपरी उत्पादन गरी महिलाहरुलाई उधमशिल बनाउन सघाउ पुगोस् भन्ने उद्धेश्यले ढुना टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरिएको हो ,’उपाध्यक्ष गर्बुजा पुनले भन्नुभयो ।

उहाँका अनुसार गाउँपालिकाले कामना आमा समुह सहित वडा नमबर ७ को भगवति आमा समुह र ८ को लस्ती फर्से महिला समुहलाई गरी तीन वटा विद्युतीय मेशिन खरिद गरेर सहयोग गरिएको छ । ढुना –टपरी उद्योगबाट लगायत स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर निर्माण गर्ने गाउँपालिकाको योजना रहेको उपाध्यक्ष गर्बुजा पुनले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भिष्म मल्लले मेसिनको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले ढुना टपरी प्रयोगबाट वडालाई प्लास्टीक मुक्त बनाउने वडाको योजना रहेको सुनाउनुभयो ।

उत्पादन बढाउन आग्रह गर्नुहुँदै बजार व्यवस्थापनको चिन्ता नगर्न वडा अध्यक्ष मल्लले आग्रह गर्नुभयो । साथै उहाँले वडामा प्रदेश र संघका जनप्रतिनिधिले ठुला आयोजना निर्माण गर्ने आश्वासन दिएपनि कुनै पहल नभएकोप्रति गुनासो व्यक्त गर्नुभयो । आमा समुहकी अध्यक्ष चिनु जिसीले विद्युतीय मेसिन सहयोगको लागि गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । पहिले हातले बनाउनुपर्दा उत्पादन थोरै हुने र समयको लागत बढ्ने भएकोले बजारमा लान नसकिएको बताउनुहुँदै नयाँ विद्युतीय मेसिनबाट ढुना– टपरी उत्पादन गर्न सहज हुने आमा समुहकी अध्यक्ष जिसीले बताउनुभयो ।

उहाँले ढुना –टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुजा,विवाह ,छेवार लगायत ठुला मेला महोत्सवमा ढुना टपरीको प्रयोग गरिने स्थानीय पवित्रा कार्कीले बताउनुभयो ।  कार्यक्रममा गाउँपालिकाका राजनितिक सल्लाहकार याम शर्मा पौडेल ,वडा सदस्य हरिबहादुर कार्की ,पदम दमाई ,तारादेबी पौडेल र समाजसेवी देब बहादुर कार्की लगायतले बोल्नुभएको थियो । समुहकी सचिव देवी कार्कीको सञ्चालन र कोषाध्यक्ष सुनिता कुमारी कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।