नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ: प्रचण्ड

  • २८ पुष २०७७, मंगलवार
  • 1589 पटक पढिएको

पाेखरा । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

उनले सोमबार मात्रै आफुसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।

केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफु अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । उनले केन्द्रीय समिति बैठकले ओलीलाई कार्यशैली सच्याउ या भ्रष्टाचारको छानविन गर्न तयार हुन निर्देशन दिने तयारी भएको भन्दै नभए जिम्मेवारी छाड्देउ भन्नेवाला रहेको बताए । ‘तर पार्टीभित्र अल्पमतमा परे भन्दैमा पार्टी नै फुटाउने, संविधान कुल्चने र संसद भंग गर्ने अधिकार कही छ ?’ प्रचण्डले प्रश्न गरे । उनले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमा प्रहार गर्न मिल्छ भनेर जवाफ दिन सक्ने क्षमता ओलीसँग नभएको बताए ।

ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओली नै भएको बताए । ‘त्यसो भन्ने हामी र जनता होइनौ, केपी ओली नै हो’ प्रचण्डको भनाई छ । झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनले हिजोमात्रै निर्वाचन आयोगमा गएर पार्टीको अवस्थाबारे कुरा राखेको र त्यसपछि आफुलाई निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए ।

अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको बताए । ‘हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहान्छु भने यो पदका लागि भएको लडाइ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो’ प्रचण्डको भनाई छ ।

उनले आरोप खारेज गर्दै अग्रगमन र प्रतिगमनकाविरुद्धको लडाई भएको बताए । परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनुनै अहिलेको आवश्यक्ता भएको बताए । उनले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने भन्दै पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी गर्दा समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रस्ट विचार राखिएको बताए ।

प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे । ‘पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ । के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’ ओली समूहमा लागेका पूर्व माओवादी नेताहरुलाई प्रचण्डको प्रश्न थियो । उनले पार्टीभित्रको लडाई भर्खर देखा नपरेको भन्दै पार्टी एकतादेखि नै कहिले सुसुप्त र कहिले बृहत रुपमा चल्दै आएपनि  गत माघमा सम्पन्न केन्द्रीय समितिपछि यो लडाई थप बृहत भएको बताए ।