छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

  • २५ पुष २०७७, शनिबार
  • 1238 पटक पढिएको

म्याग्दी, २५ पुस । बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ। कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो ।

छाडा कुकुरले सडकमा हिँड्न निकै असहज भएको जनगुनासोपछि भुस्याहा कुकुरको संख्या घटाउने उद्देश्यले विज्ञ केन्द्रको आयोजना र पशुचिकित्सालयको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर संचालन गरिएको छ। भुस्याहा कुकुरले सडकमै बर्षको दुईचोटी बच्चा जन्माउँदा कुकुरको संख्या बढ्दै गएपछि नियन्त्रणका लागि सामुदायिक कुकुर बन्ध्याकरणबाट कुकुरको संख्या घटाउने र रेविज रोगलाई नियन्त्रण गर्न खोप लगाउने कार्यक्रम आयोजना गरिएको केन्द्रिय रिफरल पुश चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताए ।

कुकुर मार्न नमिल्ने भएकाले र बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले २५ र २६ गतेको शिविरबाट एकसय भन्दा बढी छाडा र घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज खोप लगायतको उपचार गरिने केन्द्र प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले बताए ।

सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन शिविर राखिएको छ । सडकमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा ल्याउने एम्वुलेसहित ९ जनाको प्राविधक टोली आएको छ । बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने शिविरमा कुकुर ल्याउन बेनी नगरपालिकाले आग्रह गरेको छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सडक कुकुर न्युनीकरण र बर्ष २०३० सम्ममा रेविज रोगलाई न्युनिकरण गर्नका लागि खोप लगाउने कार्यलाई तिव्रता दिएको छ ।