बेनीमा रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन

  • २४ पुष २०७७, शुक्रबार
  • 1450 पटक पढिएको

म्याग्दी २४ पुस । सामाजिक तथा मानवीय संस्था लायन्स क्लव दोभानले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन गरिएको छ । शुक्रबार रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पतालमा गरिएको रक्तदाताको उत्साहजनक उपस्थिती रहेको थियो । जिल्ला बाहिर आवश्यक पर्ने बिरामीलाई लक्षित गरी आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका को चिप एडभाइजर चन्द्रकुमार केसीले रक्तदान नै जीवनदान भएको लायन्यसले नियमित र महत्वपूर्ण अभियानमा राखेको बताए ।

उनले रक्तदानमार्फत एकले अर्कालाई बचाउनु मानवीय कार्य समेत भएको बताउँदै रक्तदान कार्यलाई समाजमा सकारात्मक सन्देशका रुपमा लैजानुपर्ने बताएका थिए । लायन्स क्लवकी क्लस्टर संयोजक सुनिता केसीले म्याग्दीमा रगत अभावकै कारण मृत्युवरण गर्न नपर्ने बताउँदै लायन्स मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज लगायत सबैभन्दा धेरै रगतको खपत हुने अस्पतालमा पठाइने बताईन् ।

रक्तदान गर्ने मध्ये २५ जना महिला मात्रै थिए । रक्तदान कार्यक्रमको अध्यक्षत क्लवकी अध्यक्ष सर्मिला थापा, स्वागत सचिव पवित्रा बोगटी केसी, सञ्चालन कार्यक्रम संयोजक जानकी विश्वकर्माले गरेकी थिईन् । म्याग्दीमा रक्तदान कार्यक्रम प्रभावकारी देखिन्छ । जिल्लाभित्रका विभिन्न संघसंस्था तथा अस्पतालमै रगत संकलन गरी जिल्ला बाहिर समेत पठाउने गरिन्छ । जिल्लामा रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभएको करिव एकदशक भइसकेको छ ।