बेनी–जोमसोम–कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

  • १७ पुष २०७७, शुक्रबार
  • 2829 पटक पढिएको

उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । ट्याक निर्माण सकिएसंगै स्तरोन्नतकिा लागि २०७३ मंसिरदेखि यस करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक बर्ष वितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाका सम्म ग्राभेल गर्ने गरि सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो । २०७६ मंसिर सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि ७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको थियो ।

तर अहिलेसम्म बेनी–जोमसोममा जम्मा ४५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अस्विन कुमार यादबले जानकारी दिनुभयो । उहाँका अनुसार, मुस्ताङदेखि कोरला खण्डको काम आगामी जेठ भित्रै सम्पन्न गर्ने तयारी गरिएको छ भने बेनी–जोमसोम खण्डको काम सकिन भने अझै एक बर्ष लाग्ने देखिएको छ ।

‘‘ आयोजना गत बर्ष नै सकिनुपर्ने हो, एक बर्ष समय थपिएको पनि मंसिरमा सकिएको छ, फेरी एक बर्षसम्म समय थप गर्ने र निर्माण कम्पनीलाई आबश्यक स्रोत, जनशक्तिका साथ परिचालन गर्ने योजना छ’’–उहाँले भन्नुभयो । बेनी–जोमसोम खण्डमा म्याग्दी क्षेत्रको प्रगति गत बर्षको तुलनामा थप घटेको हो । बर्खायाममा बाढी र पहिरोले गत बर्ष बनाएका संरचनामा समेत ठुलो क्षति पु¥याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम खण्डको ३८÷३८ किलोमिटरको म्याग्दी र मुस्ताङ भाग मध्ये म्याग्दीतर्फको प्रगति न्युन छ । जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडकमध्ये ५५ किलोमिटर सडक स्रोन्नतीको काम सकेर हस्तान्तरण भैसकेको छ भने बाँकी रहेको ५५ किलोमिटर सडकमध्ये ३१ किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । करिडोर अन्तर्गत अहिलेसम्म पनि काम सुरु हुन नसकेको पर्वतको मालढुंगादेखि बेनीसम्मको १३ किलोमिटर सडकको समेत ठेक्का प्रकृयामा रहेको छ । पर्वत र बागलुङ कताबाट सडकलाई अघि बढाउने भन्ने निक्यौल नहुँदा अन्यौल बनेको यस खण्डलाई पर्वत हुँदै बेनी आउने सडकलाई नै विस्तार गर्ने गरि आयोजनाले ठेक्का आह्वान गरिसकेको छ । आगामी फागुनदेखि नै यस खण्डमा पनि निर्माण कम्पनी परिचालन भैसक्ने आयोजनाले जनाएको छ ।

चार वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनामा कुल ७ अर्ब ७५ करोड लागत रहेको यस सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तिय प्रगति भएको छ । आयोजना अन्र्तगत सडक स्तरोन्नती संगै विभिन्न खोलाहरुमा पक्की पुल समेत निर्माण कार्यले तिब्रता पाएको छ । बेनीदेखि कोरला नाकासम्मको यस सडक खण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भएपनि २० ठाउँको पुल ठेक्का लगाइसकिएको र अहिलेसम्म ३ स्थानको पुल निर्माण सम्पन्न भैसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।

                       कोरोनाका कारण रोकिएको कामले अझै तिब्रता पाएन
गत चैतदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण ठप्प भएको यस आयोजनाको कामले अहिलेसम्म पनि तिब्रता पाउन सकेको छैन् । सरकारले लकडाउन खुलाएको र बर्खायाम सकिएर हिउँदयाम समेत वितिसक्दा समेत निर्माण कम्पनीहरुले अझैपनि पूर्ण क्षमतामा कार्यक्षेत्रमा जनशक्ति र उपकरण परिचालन गर्न नसकेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । ‘‘ म्याग्दी तर्फको काम न्यून देखिएको छ, कहिकतै मात्रै काम भएको देखिन्छ, यसबारेमा पटक पटक सम्बन्धित निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिहरुलाई ध्यानकर्षण गराउँदै आएका छौँ, हिउँदयाममा समेत कार्यक्षेत्रमा उल्लेख्य जनशक्ति र मेसिन, उपकरण परिचालन नगर्नुले आयोजना थप पछि धकेलिने जोखिम बढेको छ’’–उहाँले भन्नुभयोे । जोमसोमदेखि माथिको खण्डमा चिसो बढेसंगै गत मंरि पहिलो सातादेखि निर्माण कार्य नै रोकिएको छ । आयोजनाका सूचना अधिकारी यादबका अनुसार, जोमसोम–कोरला खण्डको काम आगामी जेठ भित्रै सकिने र बेनी–जोमसोम खण्डमा समेत चैतदेखि कालोपत्रेको काम सुरु गर्ने गरि निर्माण कम्पनीहरुलाई ताकेता गरिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले करिडोर अन्तर्गत ढिलासुस्ती भएका खण्डहरुको कामलाई यथासक्य चाँडो तिब्रता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको र आयोजनालाई समेत आग्रह गरिएको बताए । ‘‘म्याग्दी खण्डको कामलाई नजिकबाट अवलोकन गरिरहेका छौँ, कहाँ कहाँ अबरोध र समस्या छन, त्यो भन्नुहोस हामी सहजीकरण गर्छौ, तर मुख्य काम गर्ने यो सिजनमा जनशक्ति र मेसिन उपकरण पूर्ण क्षमतामा परिचालन गर्नुहोस भनेका छौँ’’–प्रजिअ अधिकारीले भन्नुभयो ।
                                                                     कहाँ कति प्रगती ?
आयोजनाको गलेश्वरदेखि तातोपानी सम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ४५ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत, कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् । यस आयोजना अन्र्तगत जोमसोमदेखि ताङ्वे सम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङवेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गत बर्ष नै स्तरोन्नतीको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् । चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोसी एण्ड न्यौपानले ८५ प्रतिशत निर्माण कार्य सक्दा भेनादेखि भैmटेसम्म कन्चनजंगा लामा विरुवाले सबै काम सकेको छ । झैटेदेखि चराङसम्म कन्चनजंगा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेर देखि कोरलासम्मको १६ किलोमिटर सडक दिवा रौतहा एपेक्स जेभिले दोस्रो बर्षमै स्तरोन्नतीको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।