ओलीको असंवैधानिक कदमका विरुद्ध बेनीमा नेकपा(प्रचण्ड नेपाल)पक्षद्धारा विरोध प्रदर्शन (फोटो फिचर)

  • १४ पुष २०७७, मंगलवार
  • कमल खत्री
  • 1678 पटक पढिएको

 

म्याग्दी १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचण्ड नेपाल पक्षले मंगलवार बेनीमा बृहत विरोध प्रर्दशन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले प्रधानमन्त्री ओलीको सर्वसत्ताबाद चरित्रका कारण संसदमाथि हमला भएको बताउनुभयो । उहाँले जनताले नेकपाको एकतालाई अनुमोदन गरेपनि ओलीले आफ्नो स्वार्थपूर्तिका लागि कम्युनिष्ट एकतालाई भत्काउने र जनताको भावनामाथि खेलबाड गर्ने काम गरेको आरोप लगाउनुभयो ।

‘‘ जनताले नेकपालाई र नेकपाले ओलीलाई ५ बर्ष सरकार सञ्चालनको अवसर दिएका हुन्, तर ओली न पार्टीप्रति नत जनताप्रति नै उत्तरदायि भए, पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्न बैठक नै नबस्ने, बैठकको निर्णयनै नमान्नेदेखि सार्वभौम संसद विघटन गर्ने ओली प्रवृतिले मुलुकमा गम्भिर संकट सिजर्ना गरेको छ’’– कोइरालाले भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलनको जगमा निर्माण भएको संविधानलाई नै चुनौति दिएर हुँदै नभएको अधिकारलाई टेकेर संसद विघटन गर्ने कार्यले संविधानमाथि नै धावा बोलेको बताउनुभयो । उहाँले पार्टीमा छलफल नगर्ने, स्वच्छाचारी ढंगले सरकार चलाउने र संसद नै विघटन गर्ने कार्यहरुले ओलीको असली चरित्र उजागर भएको बताउँदै नेकपाको बहुमत केन्द्रिय सदस्यहरु मुलपार्टीमै रहेकाले यहि समुहले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्ने बताउनुभयो ।

सभामा नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवासंघका पूर्व राष्ट्रिय उपाध्यक्ष हिरा केसीले असंवैधानिक तवरले संसद विघटन गर्ने कदम सच्याउन प्रधानमन्त्री र राष्ट्रपति तयार नभए सकिन तयार हुन चेतावनी दिनुभएको थियो । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य एवम प्रदेश सभा सदस्य विनोद केसीले जनताका आबश्यकताहरुलाई पुरागर्नतर्फ भन्दा आफ्ना स्वार्थपुर्ति गर्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्यमा ओली सरकार लागीपरेकाले यस्ता कार्यहरुको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिनुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बताउँदै देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले विवेकलाई बन्धक राखेर गलत कार्यहरुलाई पनि प्रसय दिने प्रवृत्तिको कारण राजनीतिमा धुमिलपन आउन थालेको बताउँदै सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

सभामा नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभयो । संसदलाई असंवैधानिक तवरले विघटन गर्ने ओलीको कदमले संघिय गणतन्त्र र संविधानमाथि नै हमला गरेको बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको विरोध सभाको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l