सत्ताको भन्दा सत्यको सेवा गरौँ : नेकपा युवा नेता बालकृष्ण सुवेदी (भिडियो)

  • १४ पुष २०७७, मंगलवार
  • 2229 पटक पढिएको

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा (प्रचण्ड नेपाल) म्याग्दीले आयोजना गरेको प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने बताउनुभयो ।

नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका उहाँले विवेकलाई बन्धक राखेर गलत कार्यहरुलाई पनि प्रसय दिने प्रवृत्तिको कारण राजनीतिमा धुमिलपन आउन थालेको बताउँदै सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले केपी शर्मा ओलीले भारतीय र का एजेण्टको निर्देशनमा गरेको गलत कार्यलाई मुलुकको अभिभावकीय भुमिकामा रहनुपर्ने राष्ट्रपतिबाट समेत क्षणभरमै सदर गर्ने कार्यले राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको बताउनुभयो ।

उहाँले जिल्लामा नेकपाका नेताहरुलाई तटष्थ रहेकाहरुलाई लक्षित गर्दै भन्नुभयो ‘ आज तपाईहरु तटष्थ हुनुहुन्छ, तपाईको भुमिकालाई सम्मान गर्छौ, तर असंवैधानिक कदमको विरोध गर्नुहोस, सत्यको पक्षमा उभिनुहोस’’ । पार्टीको बहुमत केन्द्रिय कमिटीका सदस्यहरु रहेको पक्षलाई नै निर्वाचन आयोगले आधिकारिकता दिने र त्यसो हुन नसके मुलुकमा संविधान, विधि र कानुनी राज्यको अस्तित्व नै समाप्त हुने भएकाले सम्बन्धित निकायले न्यायोचित निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।