संसद विघटनको विरुद्धमा म्याग्दी कांग्रेसकाे बेनीमा बृहत विरोध प्रदर्शन (फोटो फिचर)

  • १३ पुष २०७७, सोमबार
  • 1475 पटक पढिएको

म्याग्दी १३ पुस । नेपाली कांग्रेस म्याग्दीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा बृहत प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर असंबैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै काँग्रेसले आइतवार बेनीमा बृहत विरोध प्रदर्शन गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले ओली सरकारले संविधान मिच्ने र सार्वभौम संसदलाई विघटन गराएपछि काँग्रेसले संविधान र मुलुकको रक्षाको लागि सडकमा उत्रनुपरेको बताउनुभयो ।

उहाँले जिल्लाबाट प्रतिनिधित्व गर्ने साँसदहरुले निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धताहरु पुरा गर्न नसकेको बताउँदै ओली सरकारले प्राकृतिक प्रकोपबाट ठुलो जनधनको क्षति व्यहोरेको म्याग्दीलाई विपद्ग्रस्त क्षेत्रमा नराखेर आफ्नो असली चरित्र पदर्शन गरेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै काँग्रेस म्याग्दीका निवर्तमान सभापती रेशमबहादुर बानियाँले ओलीको कदमले नयाँ संविधानलाई च्यात्न खोजेको र राजा महेन्द्रकै कु को निरन्तरता रहेको बताउनुभयो ।

संविधान सभा सदस्य समेत रहनुभएका बानियाँले संविधानमा बहुमतप्राप्त दलबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुनै पनि व्यवस्था नरहेको बताउँदे न्यायलयबाट ओलीको असंवैधानिक खदमलाई खारेज गरि संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व सभापति डा. भुपेन्द्र खड्का, पूर्व सहसभापति नेत्रबहादुर महत, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या मिनबहादुर कार्की, जिल्ला सदस्य केवी भण्डारी, महासमिति सदस्य चिरञ्जीबी शर्मा, महिला संघका उपाध्यक्ष निर्मला श्रेष्ठ लगायतले प्रधानमन्त्रीको असंबैधानिक कमदको विरोध गर्दै सबै क्षेत्रबाट प्रतिगामी कदमलाई खवरदारी गर्न आह्वान गर्नुभएको थियो ।

सभापति गर्बुजाको अध्यक्षता, उपसभापती माधवप्रसाद रेग्मीको स्वागत र सहसचिब भरत रकालको सञ्चालनमा विरोध सभा सम्पन्न भएको थियो । पार्टी कार्यालय संगमचोकबाट सुरु भएको विरोध ¥यालीले नारा लगाउदै बेनी बजार परिक्रमा गरेको थियो । नेपाली कांग्रेसले आज (सोमबार) १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध सभाको आयोजना गरेको छ ।