म्याग्दीमा नेकपा प्रचण्ड नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडियाे/फाेटाे)

  • १२ पुष २०७७, आईतवार
  • 1753 पटक पढिएको

म्याग्दी १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै उक्त कदमको शसक्त विरोध गर्ने निर्णय गरेको छ ।

भेलाबाट पुस १४ गते बेनीमा संसद विघटन विरुद्ध दबाबमुलक विरोध ¥याली गर्ने , पुस १६ र १७ गते जिल्लाका सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सह–इन्चार्ज यसोदा सुवेदीले कम्युनिष्ट आन्दोलन र जनताको जनमतलाई धोका दिएर ओलीले संसद विघटन गराएको बताउनुभयो ।

दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधान विपरित, अलोकतान्त्रीक, स्वयच्छाचारी र निरंकुशता भएको बताउँदै उहाँले ओलीले इतिहासमा कलंकीत निर्णय गर्दै जंगबहादुरको अर्को संस्करणको तानाशाह चलाउन खोजेको बताउनुभयो । ‘‘ संविधानमा दुई तिहाइको बहुमतबाट बनेको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कहिपनि व्यवस्था छैन, जनताद्धारा निर्वाचित सार्वभौम संसदलाई विघटन गर्ने कार्यले ओलीको वास्तविक चरित्र उजागर भएको छ, जनताको बलिदानी र त्यागबाट प्राप्त उपलब्धीको रक्षाका लागि पुनः एक पटक शसक्त आन्दोलनको जरुरी भएको छ’’–सुवेदीले भन्नुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेलले ओली कदमको विरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्ने अबस्था आएको बताउँदै जिल्लामा समेत शसक्त आन्दोलनका कार्यक्रम गरिने बताउनुभयो । उहाँले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएका उपलब्धीहरुलाई ओलीले निरंकुश शैलिमा उल्ट्याउने प्रयास गर्न थालेको बताउँदै सबैक्षेत्रबाट शसक्त विरोध र प्रतिरोधको जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले देशलाई नै पछि धकेल्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यहरुलाई विवेक बन्धक राखेर स्विकार गर्न नहुने बताउनुभयो । पार्टीमा विवाद र बहस हुने स्वभाविक कुराहरुलाई आत्मसाथ नगरिकन प्रतिगमन रुचाउनेहरुको भीड बनाएर पार्टी र देशलाई ओलीले धोका दिएको सुवेदीको भनाई थियो ।  नेकपा म्याग्दीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रचण्ड र माधवकुमार नेपाल पक्षधर अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो भने राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।