रघुगंगामा अस्पताल बनाउने ठाउँको विवाद लम्बियो, गाउँ सभा समेत पछि धकेलियो
- ११ पुष २०७७, शनिबार
- 2181 पटक पढिएको
म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद थप लम्बिएको छ । मन्त्रालयले तोकेको ठाउँ, कार्यपालिका बैठकले गरेको निर्णय र पुनः विभागबाट स्विकृत भएको स्थान फरक फरक स्थानमा पर्न गएपछि गाउँपालिकामा अस्पताल बनाउने स्थानको विवाद बढेको हो । अहिले रघुगंगामा असपताल बनाउने विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि पुस १३ गतेसम्मका लागि स्थगित भएको छ ।
पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना गरेको छ । थप छलफल र अध्ययन गर्नुपर्ने भएकाले अस्पताल विवाद टुङ्ग्याउन सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्ले स्वास्थ्य चौकीलाई राखेको थियो । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा सार्न खोजिएको भन्दै वडाध्यक्ष जीवनबहादुर मल्ललगायत पिप्लेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेपछि विवाद थप जटिल बनेको छ ।
ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । चालू आर्थिक वर्षमा रु ८३ लाख विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ । जग्गासमेत व्यवस्थापन गरिसकेको र ठाउँ नै तोकिएकाले बेगमै अस्पताल बनाउनुपर्ने बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ ।
गाउँपालिकाका बहुमत जनप्रतिनिधिहरुले बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्रमै अस्पताल बनाउनुपर्ने र केन्द्रमा नबनाएको खण्डमा पहिले नै तोकेर आएको बेगमा नै बनाउनुपर्ने पक्षमा उभिएका छन् । बहुमत वडाअध्यक्षहरुले गाउँपालिकाको केन्द्रमा अस्पताल बन्ने अबस्था नआए मतदानबाट बेगलाई निर्णय गर्ने आशय व्यक्त गरेपछि वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले आपत्ती जनाउँदै आएका छन् । पहिलो दिनको गाउँसभा नै बहिस्कार गरेका अध्यक्ष मल्लले मन्त्रालयबाट पिप्ले स्वास्थ्य चौकी स्तरोन्नती गर्ने भनी पत्र आएकाले त्यस योजनालाई पिप्लेमै कार्यान्वयन गर्नुपर्ने अडान लिएका छन् । अध्यक्ष मल्लले पिप्लेका स्थानीयबासीलाई समेत ल्याएर गाउँसभामा दबाब सिर्जना गरेका छन् । यता गाउँपालिकाको केन्द्र मौवाफाँटबासीले समेत गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि केन्द्रमै अस्पताल बनाउने कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गराउन दबाब दिदै आएका छन् । उनीहरुले वडा नम्बर ३ कै अध्यक्षले केन्द्रमा अस्पताल बनाउने कार्यमा सहजीकरण नगरेको भन्दै गुनासो समेत गरेका छन् ।