रघुगंगा र धवलागिरिमा आज हुने भनिएको अस्पतालको शिलान्यास स्थगीत

  • १५ मंसिर २०७७, सोमबार
  • 1457 पटक पढिएको

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा र धवलागिरि गाउँपालिकामा निर्माण हुने ‘एक स्थानीय तह एक अस्पताल’ योजनाको सोमबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगीत गरिएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलन्यास गर्न नसक्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन् ।


हरेक स्थानीय तहमा आधारभुत अस्पतालको सेवा पु¥याउने संघिय सरकारको नीति अनुसार सोमबार देशभरका ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने घोषणा गरिएको छ । मन्त्रालयले बेग स्वास्थ्य चौकी विस्थापित गरि १० शैयाको अस्पताल बनाउने स्थान तोकेर पठाएको स्थानमा गाउँपालिकाका बहुसंख्यकलाई अपायक पर्ने भएपछि रघुगंगाको कार्यपालिका बैठकले गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरेको थियो ।

तर, बेगबासीले बेगमै अस्पताल बनाउन दबाब दिएपछि रघुगंगामा अस्पताल बनाउने योजना अन्यौलता देखिएको छ । जग्गाको अन्यौलताका कारण तत्काल अस्पताल शिलान्यास गर्न नसकिने भनि गाउँपालिकाले मन्त्रालयलाई पत्राचार गरि जानकारी दिइएको गाउँपालिाले जनाएको छ । रघुगंगामा पछिल्लो पटक कार्यपालिका बैठकको निर्णय र सिफारिस पछी मन्त्रालयले पिप्ले स्वास्थ्य चौकी विस्थापित गरि अस्पताल बनाउने गरि स्थान फेरबदल गरेको थियो । कार्यपालिकाले गाउँपालिकाको केन्द्रमै अस्पताल बनाउने निर्णय गरेपनि अहिलेको अस्पतालले कुनै एक स्वास्थ्य चौकी विस्थापित गर्नेछ । माैवाफाँट र पिप्ले दुबै बस्ती वडा नम्बर ३ मा पर्छन् ।

यता धवलागिरि गाउँपालिकामा समेत सोमबार हुने भनिएको अस्पताल शिलान्यास नहुने भएको छ । धवलागिरि गाउँपालिका–७ ताकममा ५ शैयाको अस्पताल निर्माण गर्ने तयारीमा रहेपनि सोही वडाको धारापानीबासीले गाउँपालिकाको केन्द्र कायम गर्दा सबै राजनीतिक दल र गाउँसभाबाट समेत गाउँपालिकाको अस्पताल धारापानीमा बनाउने सहमती र निर्णय भए बमोजिम धारापानीमै अस्पताल बनाउनुपर्ने माग गरेका छन् ।

स्थानको विवादको कारण तत्काल अस्पताल भवनको शिलान्यास गर्न नसकिने मन्त्रालयलाई जानकारी गराईएको गाउँपालिको जनाएको छ । अस्पताल भवनको सन्दर्भमा पुनः सरोकारवालाहरुसंग छलफल गरि आबश्यक निचोडमा पुग्ने गाउँपालिकाको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, म्याग्दीमा रघुगंगा र मंगलामा १० शैया तथा अन्नपूर्ण र धवलागिरिमा ५ शैयाको अस्पताल बनाउने गरि योजना छनौट भएको छ ।