धवलागिरिमा गाउँपालिका स्तरीय अस्पताल धारापानीमा बनाउन माग

  • १४ मंसिर २०७७, आईतवार
  • 2225 पटक पढिएको

म्याग्दी १४ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि धारापानीबासीले विरोध जनाएका हुन् ।

गाउँपालिकाको केन्द्र कायम गर्दा गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल धारापानीमा बनाउने गाउँसभाबाट भएको निर्णयबाट पछि हटेर ताकममै अस्पताल बनाउने तयारी भएपछि धारापानीका स्थानीयले आम भेला गरि दबाबमुलक कार्यक्रम अघि सारेका छन् । गाउँसभा मार्फत धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयन गर्न गाउँपालिकालाई ध्यानकर्षण गराईसकेका स्थानीयले आईतवार प्रमुख जिल्ला अधिकारी र जिसस प्रमुखलाई समेत सो समस्याबारे ज्ञापन पत्र बुझाएका छन् ।

 

गाउँपालिकालाई दिईएको ज्ञापन पत्रको बोदार्थमा जिल्ला स्थित प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई समेत दिने गाउँका स्थानीयको निर्णय बमोजिम बेनीमा समेत ज्ञापन पत्र दिईएको नेकपा जिल्ला सदस्य समेत रहनुभएका आन्दोलनका अगुवा रिमप्रकाश थापाले बताउनुभयो । आईतवार रिमप्रकाश थापा, होमबहादुर थापा, सविन रोका, काजिमान रोका, सरोज थापा, मानबहादुर थापा लगायतको टोलीले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका थिए ।

धारापानीका स्थानीयले गाउँपालिकाको केन्द्र कायम गर्दा गाउँसभाबाट भएको निर्णय अनुसार धारापानीमा अस्पताल बनाउने योजना कार्यान्वनय नभए चरणबद्ध आन्दोलन गर्ने जनाएका छन् ।