महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

  • १४ मंसिर २०७७, आईतवार
  • 1439 पटक पढिएको

काठमाण्डौ १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । बरिष्ट उपाध्यक्षमा निर्वाचित भएसंगै ढकाललाई महासंघको नेतृत्व गर्ने अवसरको सुनिश्चित भएको छ । महासंघले बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने विधान बनाएको छ ।
महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ ।

त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । यो २४.७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत ल्याए । यो १७.४६ प्रतिशत भार हो । उता, २० प्रतिशत हिस्सा वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याए । कुल २० प्रतिशतको भारमा ढकालका लागि यो १२.०४ प्रतिशत मतभार हुन आउँछ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४.२६ मतभार प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।

निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।