नेकपा सचिवालय बैठक आज बस्दै

  • १३ मंसिर २०७७, शनिबार
  • 906 पटक पढिएको

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् ।

प्रधानमन्त्री ओलीले  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।

गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

पछिल्लो समय दुवै अध्यक्ष र पक्षधरबीचको असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखा परेको अवस्था छ ।