मंगलाको बिशेष गाउँ सभा सम्पन्नः स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित

  • १२ मंसिर २०७७, शुक्रबार
  • कमल खत्री
  • 1157 पटक पढिएको

म्याग्दी १२ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि शुक्रवार सम्पन्न बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाद्धारा सभामा प्रस्तुत ऐन सर्वसम्मत रुपमा पारित भएको थियो । गत भदौमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा आयोजित जिल्लाका सरोकारवालाहरुको सर्वपक्षिय बैठकले जथाभावि खनिएका सडकका कारण प्राकृतिक विपत्ति बढेको भन्दै जनधनको क्षति न्यूनीकरण गर्न प्रारम्भीक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो ।


सर्वपक्षिय बैठकको निर्णय र गाउँपालिकाको वातावरणमैत्री विकासलाई अघि बढाउने नीति कार्यान्वयनको लागि सो ऐन पारित भएको प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा सडकको नयाँ ट्याक निर्माणमा प्रारम्भिक वातावरणीय प्रभाब परिक्षण गर्ने, फोहोरमैला व्यवस्थापन, नदिजन्य ढुंगागिट्टी लगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेत समेटीएको छ । गाउँसभामा गाउँपालिकाको पहिलो चौमासिकमा ३ दशमल २१ प्रतिशत पुँजीगत र २० दशमल १९ प्रतिशत चालु प्रगति भएको विवरण समेत पेश गरि अनुमोदन गरिएको छ ।

सभाले वडा नम्बर ५ पुलचोक–पिपलबोट–पाँखु–धारा– सिर्कुम– टिकाबाङ सडकखण्डको हाँडेभिरमा सडकको ट्याक निर्माण र नदि नियन्त्रण योजना सञ्चालनको लागि थप रु ५० लाख बजेटको स्रोत व्यवस्थापन गरेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, यस अघि रु ५० लाख बजेट विनियोजन भएको सो योजनामा सभाले ५० लाख थप गरि रु १ करोड बजेटको योजना ठेक्का मार्फत कार्यान्वयन गर्ने स्रोत व्यवस्थापन गरेको हो । सङ्घीय साँसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु २४ लाख र गाउँपालिकाको सम्पुरक कोषबाट २६ लाख बजेटलाई समेटेर थप ५० लाख बजेट सो योजनामा थप गरिएको हो । सभाले कार्यपालिका बैठकबाट भएका निर्णयहरु अनुमोदन तथा योजना कार्यान्वयनको लागि आबश्यक अधिकार प्रत्योजन लगायतका निर्णयहरु समेत गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l