कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल

  • ११ मंसिर २०७७, बिहीबार
  • 1517 पटक पढिएको

म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान शुरु गरेको छ ।

कोषले बिहिबार एक कार्यक्रम गरी थापाको उपचारमा देश विदेशमा रहेका म्याग्देलीलाई सहयोग गर्न अपिल गरेको छ। निर्माण सम्बन्धि काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना भएका छन् । कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम, उपाध्यक्ष खम थापा, सहसचिव सन्दिप खत्री, कार्यालय प्रमुख डकबहादुर रोका, पीडितका छोराछोरीको उपस्थितिमा अभियानको घोषणा गरिएको छ ।

पीडित थापाकी श्रीमति यामु थापाले नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने भन्दै सहयोग अभियानमा साथ दिन अपिल गरेकी छन् । ‘श्रीमति अस्पतालमा मृत्युसँग लडिरहनुभएको छ,‘हामीलाई सानो सहयोगले पनि धेरै राहत मिल्छ’ उनले अस्पतालबाटै सहयोगको याचना गदैं भनिन् । यता कोषका प्रथम उपाध्यक्ष गौतमले सहयोग अभियानमार्फत संकलन भएको आर्थिकसँगै कोषको अक्षयकोषको ब्याजबाट समेत सहयोग गर्ने बताए । खड्कबहादुर थापाको उपचारमा कोषका सदस्य सन्तोष गौतमको संयोजकत्वमा  सहयोग संकलन समिति समेत गठन गरिएको छ ।