बेनी नगरपालिकाका विद्यालय मंसिर १४ गतेदेखि नियमित खुल्ने

  • ११ मंसिर २०७७, बिहीबार
  • 1011 पटक पढिएको

म्याग्दी, ११ मंसिर । मंसिर १४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय नियमित रुपमा खुल्ने भएका छन् । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको सर्वपक्षिय भेलाले आईतबारदेखि सुरक्षा मापदण्ड पालना गरेर खुलाउने निर्णय गरेको हो ।


विहिबार बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा संविधान सभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख प्रशासकिय अधिृकत छविलाल सुवेदी, नगर कार्यपालिका सदस्य र विद्यालयका अध्यक्ष र प्रधानध्यापकको सहभागितामा ब्यापक छलफल गरी जनस्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर आईतबारदेखि विद्यालयको पठनपाठन सुरु गराउने निर्णय भएको भएको प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।


विद्यालय संचालन गर्दा ब्यवस्थापन समिति, शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकले माक्स लगाउने, विद्यालयको परिसरको सरसफाई र भौतिक दुरीलाई ध्यान दिने, सावुन, पानी, सेनिटाईजर, मास्क लगायतको सुरक्षाको नियमित मापदण्डको ब्यवस्था मिलाएर विद्यालय संचालन गर्ने निर्णय भएको प्रवक्ता बराईलीले जानकारी दिए ।

विद्यालय संचालनको क्रममा कोरोना भाईरस सम्वन्धी लक्षणहरु मिल्दा जुल्दा देखिएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था चेकचाज गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, विद्यार्थीहरुमा फैलनबाट रोक्न मापदण्ड पालनमा शिक्षक र अभिभावक सचेत रहदै पाठनपाठन नियमित गराउने निर्णय गरेको छ।