मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे

  • ९ मंसिर २०७७, मंगलवार
  • कमल खत्री
  • 2653 पटक पढिएको

कमल खत्री

म्याग्दी ९ मंसिर ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो ।

मित लगाउने बिषयमा पहिले नै समझदारी भए अनुसार मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अबसरमा एक अर्काले टिका र माला लगाएर ‘मित’ साइनो जोडिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।  नेपाली ढाका टोपी समेत एक अर्कालाई उहाँहरुले लगाइदिनुभएको थियो ।  ‘‘ म राजनीतिमा पछि आएको हुँ, निर्वाचन पहिले उहाँसंग चिनजान थिएन, जनप्रतिनिधि भएपछि केहि कार्यक्रममा उहाँसंग संगै हुने अवसर मिल्यो, धेरैले उहाँ र मलाई दुई भाई जस्तै भनेर पनि चिनाउन थाले, विस्तारै उहाँ र म निकटका साथिहरुले मितको प्रस्ताब गर्नुभयो, हामीले सहर्ष स्विकार पनि ग¥र्यौ’’–उहाँले भन्नुभयो ।

राजनीतिक रुपमा दुई फरक पार्टीमा भएपनि भावनात्मक निकटताले मितेरी साइनो सम्म पु¥याएको पुनको भनाई छ । नेपाली मौलिक संस्कृति र चलनको रुपमा रहेको मितेरी साइनो हराउँदै गएको सन्दर्भमा मुख्यमन्त्री र गाउँपालिका अध्यक्षले मित लगाउँदा यसले संस्कृति संरक्षण र निरन्तरतातर्फ समेत सहयोग पुगेको मित लगाउने कार्यक्रममा सहभागी गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टिका र माला एक अर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको थियो । आफु र अध्यक्ष पुन बिचको विकासप्रेमी सोच र भावनात्मक सम्वन्धकै कारण मित साइनो जोड्ने कुरा सम्भव भएको मुख्यमन्त्री गुरुङको भनाई छ । यस अघि अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षबिच मितेरी साइनो लगाउने निश्चित भैसकेको थियो । मितेरी साइनो लगाउने कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालु समेत सहभागी हुनुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l