झिँ-बुग्ल जोड्ने रघुगंगा नदिमा पुल निर्माण,राहुघाट जलबिद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो

  • ८ मंसिर २०७७, सोमबार
  • कमल खत्री
  • 2621 पटक पढिएको

कमल खत्री

म्याग्दी ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदिमा मोटरेवल पुल निर्माण भएको छ । वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरि रघुगंगा नदिमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ट्रस प्रबिधिको ४० मिटर लामो र ३.५ मिटर चौडाई भएको पुल निर्माण गरेको हो ।

 

ट्रस प्रबिधिको ४० मिटर लामो पुलले ४० टन भारबहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका ईन्जिनियर जितेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्कि पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड पचास लाख खर्च भएको छ ।

पुल निर्माण भएसंगै राहुघाट जलविद्यूत आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यस अघि नदीमा पुल नहुँदा बाँध निर्माणको लागि आबश्यक पर्ने उपकरण र सामाग्री ढुवानी हुन सकेको थिएन् । राहुघाट जलबिद्युत आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्राे  लिमिटेड प्रर्बद्धक रहेको राहुघाट जलविद्युतको रघुगंगा ३ तिल्केनी स्थित बिद्युतगृह देखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमटिर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भएपनि पुल नभएका कारण बाधसम्म यातायातको पहुँच पुग्न सकेको थिएन् । यहाँ पुल निर्माणले जलविद्युतको बाँधस्थल संगै रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँ र ६ नम्बर वडा पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसंग सिधा सडक सञ्जालमा जोडिएका छन् ।

गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै बुग्ल सम्म पुगेको सडकको ट्याक राहुघाट जलबिद्युत आयोजनाकै सहयोगमा झिँ सम्म विस्तार भैसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्याक निर्माण भैसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नती गरि झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । झिँ मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्राअवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मिनबहादुर रोकाले बताउनुभयो । गाउँपालिकाले पाखापानीको औला हुदै राहुघाटको बाँध जोड्ने सडक पनि निर्माण गर्ने तयारी गरेको जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l