कुमारी बहुउदेश्यीय सहकारी म्याग्दीबाट उत्कृष्ट करदाताको रुपमा सम्मानीत

  • ७ मंसिर २०७७, आईतवार
  • 1330 पटक पढिएको

म्याग्दी ७ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले नवौँ राष्ट्रिय कर दिवसको अवसरमा आईतवार सहकारीलाई आर्थिक बर्ष २०७५/७६ मा म्याग्दी जिल्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज शर्मा र बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीका उपाध्यक्ष राजकुमार थापालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेका थिए । यस सहकारीले आब ०७१/०७२ र ०७३ /०७४ मा समेत जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा सम्मानीत भैसकेको छ ।

कार्यालयमा दाखिला गरेको आयकरको आधारमा आन्तरिक राजश्व कार्यालय बागलुङले हरेक बर्ष कर दिवसका अवसरमा साविक धवलागिरिका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका एक ÷एक जना उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । यस बर्ष म्याग्दीबाट कुमारी बहुउदेश्यीय सहकारी संगै पर्वतबाट नेष्डो समृद्ध नेपाल, बागलुको ग्रिन डेभलपमेण्ट बैँक र मुस्ताङबाट अमित बिल्डर्सलाई समेत सम्मान गरिएको छ ।