आज छठ पर्वः सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

  • ५ मंसिर २०७७, शुक्रबार
  • 1211 पटक पढिएको

काठमाण्डौ ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।


सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ । यसै बीच श्रद्धालुहरूले विभिन्न कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् ।