गोठाला जिवन : ‘कुकुरको सुरक्षाकै भरमा घनाजंगलमा गोठको बास’ ( भिडियाे कथा)

  • २९ कार्तिक २०७७, शनिबार
  • 3281 पटक पढिएको

बेनी, २९ कात्तिक । वरीपरि जंगलले घेरिएको बिचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जंगलको छेउको चौरमा रहेको भेडिगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिईएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलिडाँडा नजिकको भेडिगोठको दृष्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडिगोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी गोठमा रहेका ५ वटा भोटे जातका कुकुरको रहेको भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो ।

करिब ४ सय भेडाबाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् । तर उनीहरुको जिम्मेवारी भेडाबाख्रालाई चरण क्षेत्रमा लगाउने र गोठको सामान ओसार पोसार गर्ने मात्रै हो । गोठमा रहेका भेडाबाख्रालाई जंगली जनावरबाट बचाउने र गोठका हेरालुहरुको समेत सुरक्षाको प्रमुख जिम्मेवारी गोठमा रहेका कुकुरहरुकै रहेको भेडापालक कृषक छन्त्याल बताउनुहुन्छ ।  छन्त्यालको गोठमा ५ वटा भोटे प्रजातिका कुकुर रहेका छन् ।

१५ देखि ६० हजार सम्ममा छन्त्यालले कुकुर खरिद गरि गोठमा पाल्नु भएको छ । चरणक्षेत्रदेखि रातमा सिंगो गोठको सुरक्षाको लागि कुकुर नै पहिलो रक्षकको रपमा रहेको छन्त्याललको अनुभव छ । गत बर्ष रोगका कारण गोठमा कुकुर मरेपछि आफ्नो गोठमा १५ दिनको अवधिमा बाघ र चितुवाले १५ वटा र स्यालले ५ वटा भेडाबाख्रा मारेको छन्त्यालले जानकारी दिनुभयो । ‘‘ कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेको छैन्, कहिलेकाँही कुकुरको आँखा छलेर चरणक्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडिगोठको रक्षक भनेकै कुकुर हो’’–उहाँले भन्नुभयो ।

भेडिगोठमा रहेका भेडाबाख्रासंगै कुकुरहरु समेत चरणक्षेत्रमा जाने गर्छंन् । बेशीदेखि हिमालको फेदीसम्म घना जंगलका बिचमा समेत गोठ राख्दै आएका मल्कबाङका अर्का भेडापालक कृषक कमरा विकले कुकुरहरु आफ्नो सुरक्षाको सिपाही र गोठको सारथी भएको बताउनुभयो । जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाईििदने चलन रहेको छ । दिनको समयमा चरण क्षेत्रमा जाने कुकुरहरु रातको समयमा भेडाबाख्रा बसेको चौरको वरपर बसेर भेडाबाख्रा र गोठको पहरेदारको काम गर्ने विकको भनाई छ । ‘‘यहाँ मेरो साथि भनेकै कुकुर हो, रात होस या दिन मेरो र गोठमा रहेका भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट बचाउने जिम्मा उसैको हो’’ विकले भन्नुभयो ।


घरपालुवा गुनिलो जनावरको रुपमा चिनिने कुकुर केही बर्ष अघि सम्म ग्रामीण भेगका घरघरमा पालन गरिन्थ्यो । समाज विकास संगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थालेपनि अनकन्टार जंगल र हिमालको फेदीमै पुगेर गरिने भेडाबाख्रा पालनको लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको छ । कतैबाट बाहिरी नचिनेको मानिस र जंगली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढेमा ठुलो स्वरले भुक्ने कुकुरको काम हो । कुकुर जनावर भएपनि हिमाली भेगमा रहेका भेडाबाख्रा, गाई भैसीँका गोठहरुमा भने कुकुरको भुमिका जनावरको नभई एक प्रतिबद्ध रक्षकको रुपमा देखिन्छ ।

एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाहरुले साथि र प्रतिबद्ध रक्षकको रुपमा कुकुर पालन गर्ने गरेको पाईएको मल्कबाङका युवा अमर छन्त्यालले बताउनुभयो । पछिल्लो समय शहरी क्षेत्रमा शोखको लागि कुकुर पाल्ने क्रम बढीरहेको सन्दर्भमा दुर्गम र ग्रामीण बस्तीका भेडाबाख्रा र गाईभैसी पालन गर्ने कृषकहरु भने कुकुरलाई आफ्नो अंगरक्षककै रुपमा पालन गर्ने गरेको पाईन्छ ।


हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार पर्व अन्र्तगत शनिवार कुकुरको पुजा गरि कुकुर तिहार मनाइदै छ । हिन्दु मान्यता अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानको रुपमा कुकुरलाई पुर्जा गरिन्छ । कुकुर मानिसको नजीकको साथिको रुपमा चिनिन्छ भने आज्ञाकारी र कर्तव्य पालक जनावरको रुपमा समेत लिने गरिन्छ ।