बेनीमा ११ दिनदेखि जारी लकडाउन बुधवार देखि खुल्ला हुने

  • २५ कार्तिक २०७७, मंगलवार
  • 1591 पटक पढिएको

म्याग्दी २५ कात्तिक । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनीमा गत ११ दिनदेखि जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । बेनी बजारका घर घरमा पुगेर कोरोनाका लक्षण भएका विरामीहरुको खोजी गर्दा तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।


बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलवार दिउँसो बसेको डिसिसिएमसिको वैठकले बेनीमा स्थगीत गरिएका सेवा र बजार खुल्ला गर्ने निर्णय गरेको हो । बजारमा कोरोनाको जोखिम बढेको भन्दै गत १४ गतेबाट बेनी नगरपालिका भित्रका अत्यावश्यक वाहेकका सबै सेवा र बजार एक हप्ताका लागि बन्द गराइएकोमा २१ गते पुन थप गरि २८ गते सम्म पुर्याईएको थियो ।


बन्दका विचमा स्वास्थ्यकर्मी सहितको टोलिले बजारका ५८१ घरधुरिका ३९१० जना संग स्वास्थ्य अवस्था, जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको र मापदण्ड पालना गर्न अनुरोध गरिएको जनाईएको छ । सो अभियानका क्रममा कोरोनाका लक्षण भेटिएका १३ जनाको स्वाब संकलन गरिएको र उनीहरुलाई होम क्वरेनटाइनमा राखिएको जनाईएको छ ।

नगरपालिकाको सिफारिसका आधारमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले २५ गते राती १२ बजेदेखि नै स्थगीत सेवा तथा पसलहरु खुला गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कँुवरले जानकारी दिनुभयो ।

डिसिसिएमसीले तिहार लगायतका चाडपर्व आफ्नो घरमा मात्रै बनाउन अनुरोध गर्दै , जिल्ला बाहिरबाट आउनेलाई अनियबार्य रुपमा होम क्वरेनटाइनमा राख्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । त्यसैगरि देउसी भैलो, मेला तथा कार्यक्रमहरु गर्न रोक लगाईएको छ भने सेवा प्रवाह र सामाग्री विक्रि गर्दा दुरी कायम गर्न, मास्कको अनियबार्य प्रयोग गर्न भनिएको छ ।