म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

  • २३ कार्तिक २०७७, आईतवार
  • 2307 पटक पढिएको

म्याग्दी २३ कात्तिक । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका–९ का ३० बर्षिय पुरुष र चितवन घर भई बेनी नगरपालिका–४ मा एक वित्तिय संस्थामा कार्यरत २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


जोखिमयुक्त ठाउँबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र अस्पतालमा उपचारको लागि आएका संकास्पद विरामीको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पोखरा पठाईएकोमा आईतवार दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म ११० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७२ जना निको भैसकेका छन् । म्याग्दीमा कोरोनाको संक्रमण बढेपछि बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा यातायात बाहेकको सेवा बन्द गरिएको छ । बैँक, सहकारी तथा वित्तिय संस्थाको सेवा स्थगन गरिएको छ भने सरकारी कार्यालयहरुको समेत अत्याबश्यक र आन्तरिक बाहेकको सेवा स्थगन गरिएको छ ।