धारापानीको बौरमा पहिरोले बगाएको कुलो मर्मत नहुँदा हिउँदे बाली छाड्नुपर्ने बाध्यता

  • २३ कार्तिक २०७७, आईतवार
  • 2149 पटक पढिएको

म्याग्दी २३ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीको बौरमा गत असार २५ गते राती आएको बाढीले बगाएको सिचाई कुलो मर्मत र पुननिर्माण नहुँदा स्थानीयले हिउँदेबाली लगाउन पाएका छैनन् । ताकमको पुछारमा रहेको छहरी खोल्साबाट बौरको खेतको फाँटमा ल्याईएको तल्लो र उपल्लो गरि दुई वटा सिचाई कुलोको करिब ५ सय मिटर कुलोमध्ये ३ सय मिटर कुलो पहिरोले बगाएको स्थानीय कृषक भुवानी पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिरोले बगाएको कुलो पुननिर्माण नहुँदा स्थानीयबासीले यस बर्षको हिउँदेबाली गहुँ लगायतका खेती गर्नबाट बञ्चित भएका छन् । सिचाई कुलो नहुँदा पानी बगेर खेर गएको छ भने करिब एक दर्जन घरधुरीको करिब १ सय रोपनी बढी क्षेत्रफलको खेतीयोग्य जमिनमा सिचाई अभाब भएको छ । धान रोपेपछि नै पहिरोले कुलो बगाएकाले यस पटक आकासे पानीको भरमा मात्रै धान खेती गरिएको थियो । सिचाई अपुग हुँदा धान उत्पादनमा आधा गिरावट आएको स्थानीयबासीको भनाई छ । बौरमा पहिरोले करिब ७० मुरी धान उत्पादन हुने खेत समेत पुरेको थियो ।