मल्कबाङमा स्वास्थ्य चौकीको भवन अलपत्र
- २२ कार्तिक २०७७, शनिबार
- 1997 पटक पढिएको
कमल खत्री
म्याग्दी २२ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका – ५ मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकी भवन अल्पत्र परेको छ । विगत तीन बर्षदेखि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जिर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित बनिरहेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो ।
भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि शैया, औषधी भण्डारण, कर्मचारी आवास, प्रशासन, तालीम हलका लागि छुट्टा छुट्टै कक्ष रहने गरि ठेक्का सम्झौता भएपनि भवनको एक तला ढलान बाहेकको काम बाँकी छ ।
सुबिधा सम्पन्न भवन निर्माण सुरु भएपनि पहिलो तला ढलान गरेपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, मौखिक रुपमा पटक पटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत भग्नाबशेषमा परिणत हुँदै गएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धा मार्फत वोल्ड वाइड मालीका भगवती जेभिले तीन बर्ष अघि एक करोड ७४ लाख रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।
दुर्गम बस्तीमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन बन्ने भएपछि उत्साहित बनेका स्थानीयबासी भवन अल्पत्र बनेसंगै निरास बनेका स्थानीय युवा दलमान छन्त्यालले बताउनुभयो। ‘‘ बर्षदिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जिर्ण बन्ने जोखिम बढेको छ,’’–उहाँले भन्नुभयो । सडक सञ्जालको पहुँच पुगेर ढुवानीमा सहज हुँदा समेत निर्माण कम्पनीले भवन निर्माणलाई अघि बढाउन आनाकानी गरेको स्थानीयको गुनासो छ ।
कोरोना महामारीले मजदुर लैजान समस्या
यता निर्माण कम्पनिका प्रतिनिधि गोपाल भट्टचनले कोरोना महामारीका कारण मजदुरहरु बाहिरबाट लैजान समस्या भएकाले निर्माण कार्यलाई अघि बढाउन समस्या भएको बताए । उनले भवन निर्माण सुरु गर्दा सडक सञ्जाल नपुगेको कारण खच्चड र मानिसबाटै सामाग्री ढुवानी गरि निर्माण कार्यलाई अघि बढाएको बताउँदै हालै गाउँ सडक सञ्जालले जोडिएको र सामाग्रीलाई सवारी हुँदै ढुवानी गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले बाहिरबाट मजदुर लैजान सकिने अबस्था नरहेकाले स्थानीय मजदुरहरुबाट नै योजनालाई अघि बढाउने योजना बनाएको बताउनुभयो । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत हेर्ने यस योजना भर्खर बागलुङमा कार्यालय स्थापना भएको सघन सहकारी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत अघि बढ्ने भएको छ । बिगतमा निर्माण सुरु भएर अल्पत्र बनेका भवनहरुको सन्दर्भमा सम्बन्धित निर्माण कम्पनिका प्रतिनिधिलाई पत्र लेखेर ताकेता गर्न थालिएको कार्यालय प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।
जिर्ण भवनको सेवा जोखिमपूर्ण
मल्कबाङमा रहेको जिर्ण भवनबाट सेवा लिन जोखिमपूर्ण रहेको छ । साँघुरो र जिर्ण भवन संगै फराकिलो स्थानमा समेत नरहेकाले अहिलेको भवनबाट सेवा लिन कठिनाई उत्पन्न भएको स्थानीय युवा अमर छन्त्यालले बताउनुभयो । सो भवनबाट मल्कबाङ, मलम्पार, भेडिखाल्टा लगायतका स्थानीयबासीले दैनिक जसो सेवा लिँदै आएका छन् । पुरानो भवनबाट जोखिमपूर्ण तवरले सेवा प्रवाह गर्नुपर्ने र अर्कोतर्फ नवनिर्मित भवन अल्पत्र परेपछि स्थानीयबासीमा निरासा छाएको छन्त्यालले बताउनुभयो ।