मौवाफाँटमा १० बेड क्षमताको अस्पताल निर्माण गरिने, बेग स्वास्थ्य चौकी पुननिर्माण हुँने

  • २१ कार्तिक २०७७, शुक्रबार
  • 1960 पटक पढिएको

म्याग्दी २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो ।

संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि मौवाफाँटमा जग्गा ब्यवस्थापन सहित आबश्यक प्रकृया अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै स्थानमा अस्पताल निर्माण गर्ने निर्णय भएको छ ।

कुल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालु आर्थिक बर्षका लागि रु ८५ लाख बजेट प्राप्त भएको छ । यस अघि संघिय सरकार मार्फत रघुगंगा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापित गरि अस्पताल निर्माण गर्ने गरि योजना स्विकृत भएको थियो । तर यसैबर्षदेखि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत बेग स्वास्थ्य चौकीको पुननिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकाँश वडाहरुको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाईएको छ ।

‘‘ एक स्थानीय तहमा एक मात्रै अस्पताल बन्ने मापदण्ड रहेछ, बेगमा अस्पताल हुँदा गाउँपालिकाका बहुसंख्यकलाई अपायक पर्ने देखियो, त्यसैले अस्पताल केन्द्रमा बनाउदा उपयुक्त हुँन्छ, बेगको स्वास्थ्य चौकी पनि पुननिर्माणको काम अघि बढेको छ, त्यहाँका जनताले पनि सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउँछन्’’–गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले भन्नुभयो । गाउँपालिकाले यस अघि वडा नम्बर १ को बाँदुकमा समेत स्वास्थ्य इकाई स्थापना गरिसकेको छ । बेगखोलामा स्वास्थ्य चौकी पुननिर्माणका लागि १ करोड ३५ लाख बजेटबाट पुननिर्माण प्राधिकरण मार्फत काम अघि बढेको गाउँपालिकाले जनाएको छ ।