बेनीको बन्दा बन्दी कात्तिक २८ गतेसम्म गर्ने निर्णय

  • २१ कार्तिक २०७७, शुक्रबार
  • 1332 पटक पढिएको

म्याग्दी २० कात्तिक । सदरमुकाम बेनी सहित जिल्लाभित्र बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकामा लगाईएको बन्दाबन्दिलाई कात्तिक २८ गतेसम्म जारी राख्ने निर्णय भएको छ । बेनी नगरपालिकाको सिफारिसमा डिसिसिएमसिको बैठकले कोरोना संक्रमणको रोकथामका लागि भन्दै बन्दलाई लम्बाउने निर्णय गरेको हो ।


जिल्ला प्रशासन कार्यालयले एक जरुरी सूचना जारी गरि बेनी नगरपालिकाको सिफारिस, स्वास्थ्य क्षेत्रका विज्ञको राय, जिसस र बेनी नगरपालिका प्रमुख तथा उद्योग बाणिज्य संघका अध्यक्ष समेतको उपस्थितिमा बसेको बैठकले संक्रमण रोकथामका लागि यस अघि कात्तिक १४ देखि २१ गतेसम्मलाई गरिएको बन्दलाई २८ गतेसम्म निरन्तरता दिन उपयुक्त हुने निष्कर्ष निकालेको जनाएको छ । बन्दको समयमा अत्याबश्यक बस्तु तथा सेवाको पसलहरु खोल्ने कार्यलाई केहि खुकुलो बनाईएको छ । अत्याबश्यक बस्तु तथा सेवाका पसलहरु विहान ८ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको छ ।

सो अवधिमा बजारका अत्याबश्यक बाहेकका पसलहरु बैँक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने, नगरपालिका तथा वडाका सेवाहरु समेत अत्याबश्यक बाहेक स्थगित गरिनेछ । यसैबिच बेनीमा गरिएको एक साताको बन्दको अवधिमा १०८ जनाको स्वाब संकलन गरिएकोमा थप १९ जनामा कोरोना संक्रमण भएको पहिचान भएको छ । बन्दभको पछिल्लो ७ दिनको अवधिमा कोरोना संक्रमितको कन्टयाक्ट ट्रेसिङ, नमुना संकलन तथा परिक्षण, जनचेतनामुलक अभियान सञ्चालन, होम क्वारेनटाईन र आइसेलेसनको व्यवस्थापन तथा अनुगमन र जनस्वास्थ्यका मापदण्डको पालना सम्बन्धी प्रचार प्रसारका गतिविधि गरिएको छ ।

बेनी संगै म्याग्दीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका हुन् । बेनी नगरपालिका संगै मालिका गाउँपालिका र मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरिएको छ भने बैँक तथा वित्तिय संस्था, सहकारी, शैक्षिक संस्था र बजारलाई बन्द गरिएको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि समुदाय स्तरमै कोरोना फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर स्थानीय तहहरुले यस्तो कदम चाल्न थालेका हुन् । मालिकामा २० देखि २८ सम्म र मंगला गाउँपालिकामा २० देखि मंसीर १ गतेसम्म बन्द गरिएको छ ।