धवलागिरिमा आवास पुननिर्माणको तयारी : गाउँपालिकाद्धारा प्रधानमन्त्रीलाई ध्यानकर्षणपत्र

  • २१ कार्तिक २०७७, शुक्रबार
  • कमल खत्री
  • 1894 पटक पढिएको

म्याग्दी २० कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिकाले आवास पुननिर्माणमा बजेट माग गर्दै संघिय सरकारको ध्यानकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि गाउँपालिकामा पहिरो र बाढीबाट क्षेतिग्रस्त बनेका आवास र पूर्वाधार निर्माणमा आबश्यक बजेटको माग गरेका हुन् ।

                           तस्बिरः रेशम छन्त्यालको फेसबुकबाट साभार

प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री थममायाँ थापाको नेतृत्वमा गएको गाउँपालिकाको टोलीले गत असार २५ र २६ गतेको पहिरोका कारण धवलागिरि गाउँपालिकामा पुगेको जनधनको क्षति र आवास तथा विकास निर्माणका पूर्वाधारहरुमा पुगेको क्षतिबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए । गाउँपालिकामा आवास पुननिर्माणको लागि मात्रै करिब ८ करोड बढीको लागत अनुमान तयार गरिएको र संघिय सरकार मार्फत छिट्टै आबश्यक बजेट पठाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष पुनले बताईन् ।

‘‘ हाम्रो पहिलो प्राथमिकता आवास विहिनहरुको आवास पुननिर्माण हो, त्यसको लागि स्थानीय सरकारको बजेटले मात्रै सम्भव छैन, प्रदेश र संघिय सरकारलाई समेत छिटै बजेट पठाउन ध्यानकर्षण गरेका छौँ’’–उनले भनीन् । सो क्रममा प्रधानमन्त्री ओलीले पुननिर्माणको कार्य म्याग्दीबाटै सूरु गर्ने सरकारले तयारी गरेको बचन दिएका छन् । उनले बाढी पहिरोबाट देशव्यापी रुपमा भएको क्षतिबारे सरकारले तथ्याङ्क संकलन र लागत तयार पार्ने काम अघि बढाएको जानकारी दिएका थिए ।

गत असारको पहिरोले यस गाउँपालिकाको मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवनहरु भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थापनमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

धवलागिरीको वडा न. ६ मराङमा २४, वडा न. ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरि पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाका अनुसार, ६० घर पूर्ण, ७२ घर घर आँसीक क्षति भएका छन भने एक सय बढी घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । पहिरो पीडितको आवास पुननिर्माणको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र जिल्लाबाट प्रतिनिधित्व गर्ने साँसदलाई समेत यस अघि नै बजेट व्यवस्थापनका लागि ध्यानकर्षण गराईएको गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l