म्याग्दीका तीन स्थानीय तहमा लकडाउन

  • २१ कार्तिक २०७७, शुक्रबार
  • 1980 पटक पढिएको

म्याग्दी २१ कात्तिक । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका हुन् ।


बेनी नगरपालिका मालिका गाउँपालिका र मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरिएको छ भने बैँक तथा वित्तिय संस्था, सहकारी, शैक्षिक संस्था र बजारलाई बन्द गरिएको छ । यि स्थानीय तहमा वडाहरुको समेत सेवा प्रवाहलाई स्थगित गरिएको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि समुदाय स्तरमै कोरोना फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर स्थानीय तहहरुले यस्तो कदम चाल्न थालेका हुन् । बेनी नगरपालिकामा कात्तिक १४ देखि २१ सम्म, मालिकामा २० देखि २८ सम्म र मंगला गाउँपालिकामा २० देखि मंसीर १ गतेसम्म बन्द गरिएको छ ।

छिमेकि स्थानीय तहहरुमा बन्दाबन्दी गर्दा बैँकिङ सेवा लिन आउनेहरुको भिड बढेको र गाउँपालिकामा समेत संक्रमितको सख्ंया बढ्दो क्रममा रहेकाले बजार र बैँकीङ क्षेत्रलाई बन्द गरि गाउँपालिकाको अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरिएको मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए ।  जिल्लामा जनप्रतिनिधि, व्यवसायी, कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाका जोखिम बढेको छ । बेनी नगरपालिका सहित, मालिका र मंगला गाउँपालिकाले कार्यालयबाट अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरेका छन् ।

पालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट निर्णय गरि निश्चित समयको लागि आबश्यक पसलहरु खुल्न दिने र अन्य समयमा बन्द गराउने निर्णय गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ । जिल्लामा हालसम्म तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।