मंगला गाउँपालिकामा मंसीर १ गतेसम्म लकडाउन

  • २० कार्तिक २०७७, बिहीबार
  • 1434 पटक पढिएको

म्याग्दी २० कात्तिक । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहहरुले धमाधम बन्द गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका हुन् ।

मंगला गाउँपालिकाले विहिवार रातीदेखि कार्यान्वयन हुने गरि आगामी मंसीर १ गतेसम्मलाई बैँक तथा वित्तिय संस्था, बजार , शैक्षिक संस्था र पालिकाको सेवा प्रवाह बन्द गरेको छ । यस अघि जिल्लाको बेनी नगरपालिका र मालिका गाउँपालिकाले बन्द गरीसकेका छन् । छिमेकी स्थानीय तहहरुले बन्द गर्दा बैँक तथा वित्तिय संस्थामा बाहिरबाट समेत सेवाग्राही आउन थालेको र कोरोनाको जोखिम बढेपछि बन्द गरिएको मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाद्धारा जारी विज्ञप्तीमा कात्तिक २० गते राती १२ बजेदेखि आगामी मंसीर १ गते सम्म लकडाउन गरिएको जनाईएको छ । सेवा अवधिमा विहान ७ देखि १० बजेसम्म मात्रै आबश्यक पसलहरु खुल्ने र अन्य समयमा बजार , बैँक तथा वित्तिय संस्था, सहकारी, शैक्षिक संस्था बन्द गरिएको छ । गाउँपालिका र वडाको समेत अत्याबश्यक र आन्तरिक बाहेकको सबै सेवा प्रवाह स्थगित गरिएको छ ।


गाउँपालिकाले ३ जना भन्दा बढी मानिस भेला हुने, दिपावलीको अवसरमा पिंग, ताराखेल लगायतका जमघट हुने कार्यलाई समेत रोक लगाएको छ । यस गाउँपालिकाका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भैसकेको सन्दर्भमा गाउँपालिकाले घरबाहिर निस्कनै परेको खण्डमा सर्वसाधारण नागरिकलाई स्वास्थ्य सुरक्षाको उपायहरुलाई पालना गर्न आह्वान समेत गरेको छ ।