प्रदेश सभा सदस्य केसी र नेकपा म्याग्दीका सचिब श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

  • १९ कार्तिक २०७७, बुधबार
  • 1692 पटक पढिएको

बेनी १९ कात्तिक । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो सहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परिक्षणको लागि स्वाब दिएकोमा मंगलवार साँझ आएको रिपोर्ट अनुसार आफुलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सदस्य केसीले बताउनुभयो ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका श्रेष्ठले आफु सहित आफ्नो परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । म्याग्दी निर्वाचन क्षेत्र क बाट निर्वाचित प्रदेश सभा सदस्य केसी र नेकपा सचिब श्रेष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

सांसद केसी र सचिव श्रेष्ठ सहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सवैजना कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । सोमबार संक्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब संकलन गरि पठाएकोमध्ये १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरि गाउँपालिका–७ का एक पूरुष र रघुगंगा गाउँपालिका–२ घर भइ काठमाण्डौ बसोबास गर्ने एक पुरुष गरि तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।