कोरोना संक्रमणबाट धौलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु

  • १८ कार्तिक २०७७, मंगलवार
  • 1367 पटक पढिएको

बागलुङ १८ कात्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए ।

उनी गत कात्तिक १२ गते स्वास प्रश्वासमा समस्या भएपछि आकस्मीक कक्षमा उपचारको लागि आएर धौलागिरि अस्पतालमा भर्ना भएका थिए ।
सोही दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको र मंगलबार बिहान १० बजेर २० मिनेटको समयमा उनका मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिलेदेखि नै उच्च रक्तचाप, सुगर र थाईराइडको समस्या रहेको अस्पतालले जनाएको छ ।

उनी अस्पताल जाँदा नै गम्भीर स्वाशप्रश्वास सम्बन्धी देखिएको थियो । कोरोनाबाट मृतक व्यक्तिको नेपाली सेनाले दाह संस्कार गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । धौलागिरि अस्पतालमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो ।