बेनी अस्पतालको भेन्टिलेटर सहितकाे आइसियू सञ्चालनमा जनशक्ति अभाब

  • १८ कार्तिक २०७७, मंगलवार
  • 1747 पटक पढिएको

कमल खत्री
म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनी अस्पतालमा चार महिनाअघि स्थापना गरिएको सघन उपचार कक्ष(आइसियू) सञ्चालनमा आउन सकेको छैन् । गण्डकी प्रदेश सरकार मार्फत अस्पतालमा दुई वटा भेण्टिलेटर सहित पाँच शैयाको आइसियू कक्ष स्थापना भएको थियो । गम्भिर विरामीको उपचारमा प्रयोग गर्ने गरि आइसियू कक्ष स्थापना गरिएको भएपनि जनशक्तिको अभाबमा चार महिनासम्म पनि सो कक्ष नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो ।


आइसियू कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आबश्यक पर्ने भएपनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर अमृत अधिकारीले बताउनुभयो ।
‘‘ आइसियू कक्ष नियमित सञ्चालनमा आउन नसक्नुमा आबश्यक जनशक्तिको अभाब नै पहिलो कारण हो, मेडिसिन र एनएसथीसिया डाक्टर संगै मेडिकल डाक्टर र स्टाफ नर्सहरुको समेत बन्दोबस्त मिलाउनुपर्छ, तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सहरुको ब्यवस्थापन आन्तरिक रुपमा खटनपटन गर्न सक्छौँ, अन्य जनशक्ति थप गर्नुको विकल्प छैन’’– उहाँले भन्नुभयो ।

आकस्मीक रुपमा छोटो समयको लागि भेण्टिलेटर सहितको आइसियू कक्षमा विरामीको उपचार गर्न सकिने भएपनि नियमित सेवा सुचारु गर्न अहिले अस्पतालमा रहेको स्वास्थ्यकर्मीहरुको जनशक्तिले सेवा दिन सम्भव नरहेको निमित्त प्रमुख डाक्टर अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा पछिल्लो समय मृर्गौला पीडितहरुको लागि डायलासीस सेवा समेत सूचारु गरिएको र कोरोनाका विरामीहरुको आईसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् ।

                                                   आइसियू कक्षमै थन्किए उपकरण
गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालहरुमा भेण्टिलेटर सहितको आइसियुकक्ष बनाउने प्रदेश सरकारको निर्णय बमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेण्टिलेटर र ५ बेडको आइसियू मेसिन तथा उपकरण र सामाग्रीको खरिद गरि जडान समेत भएको थियो । प्रदेश सरकार मार्फत रु १ करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्र मार्फत रु १ करोड २५ लाखमा आइसियू र भेण्टिलेटरको उपकरण र सामाग्री खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । ५० बेड क्षमतामा सञ्चालित यस अस्पतालको भवन निर्माणधिन अबस्थामा रहेकाले तत्कालको लागि अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयको भुईतलाको कोठामा आइसियुकक्षको सेवा दिने गरि व्यवस्थापन मिलाईएको भएपनि प्रदेश सरकार र विभागले आबश्यक जनशक्ति नपठाएको कारण नियमित रुपमा उक्त सेवा दिन नसकेको अध्यक्ष कटुवालले बताउनुभयो । ‘‘ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भेण्टिलेटर सहितको आईसीयूको आबश्यकता थप बढेको छ, नियमित रुपमा सेवा सुचारु गर्न नसक्दा अहिले जटिल विरामीहरुलाई हेलिकप्टर मार्फत पोखरा, काठमाण्डौ पठाउनुपर्छ, त्यसको अन्त्य गर्नका लागि आइसियू कक्षको सेवालाई नियमित गर्न पहल गरेका छौँ, अब जनशक्तिको मात्रै अभाब रहेको छ, त्यसको लागि प्रदेश सरकार र विभागमा समेत अनुरोध गरेका छौँ’’–अध्यक्ष कटुवालले भन्नुभयो ।
                                               जनशक्तिको अभाबले स्वास्थ्यकर्मीमाथि भार
बेनी अस्पतालमा रहेको दरबन्दिमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाब छ । दरबन्दी अनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहोराएर डिउटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा १ जना मेडिकल सुपरीटेन्डेन्ट, ८ जना बिशेषज्ञ र २ जना मेडिकल डाक्टरहरुको दरबन्दि रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरि ९ जना डाक्टरहरु कार्यरत रहेका छन् । हाल कार्यरतमध्ये ३ जना डाक्टरको सरुवा भैसकेको र अन्य केहि डाक्टरहरुको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरहरुले रुचि नदेखाउने गरेको पाईएको छ ।
                                               कोरोना बढ्दै जाँदा भेण्टिलेटर सेवाको आबश्यकता बढ्यो
जिल्लामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलदै गएपछि बेनी अस्पतालमा आइसियू र भेण्टिलेटर सहितको सेवा सूचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसीयू र भेण्टिलेटरका उपकरण प्रयोगविहिन बन्ने र अर्कोतर्फ गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाण्डौं पु¥याउनुपर्ने बाध्यता सिर्जना भैसकेको छ । आइसियू सञ्चालन नहुँदा यसै साता मात्रै गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाण्डौं पु¥याइएको थियो । पछिल्लो समय बेनीमा लक्षण सहितका कोरोना संक्रमित बढ्दै गएकाले भेण्टिलेटर सहितको आइसियू सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियुस्थापना भएका प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ ।