कोरोना संक्रमणको जोखिम बढेपछि अन्नपूर्णका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक
- १५ कार्तिक २०७७, शनिबार
- 1462 पटक पढिएको
म्याग्दी १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक लगाएको छ । कोरोना महामारी फैलँदै गएको अबस्थामा दशैँ र तिहार पर्वको अवसरमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढेपछि गउँपालिकाले पर्यटकीय स्थलहरुमा भ्रमणमा नआउन आह्वान गरेको हाे ।
म्याग्दीमा समेत कोरोना संक्रमण बढ्न थालेपछि गाउँपालिकाले तत्कालको लागि गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरुमा भ्रमण गर्न रोक लगाएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, भ्रमणको लागि आन्तरिक पर्यटकहरुको चहलपहल बढेसंगै संक्रमण फैलिएको ठाउँबाट आउने आन्तरिक पर्यटकहरु मार्फत स्थानीयमा कोरोनाको जोखिम बढेपछि गाउँपालिकाले भ्रमणमा रोक लगाएको हो ।
कोरोना कहरका बिच पछिल्लो समय गाउँपालिकाभित्र रहेका महरेडाँडा, करबाकेली, खोप्रा, बयली, ढाडखर्क, घोरेपानी, पुनहिल, रुप्से, नारच्याङ झरना र विभिन्न स्थानमा रहेका तातोपानी कुण्डहरुमा पर्यटकको चहलपहल बढेको थियो । यस अघि घोरेपानीका स्थानीयबासीले समेत भ्रमणमा आउनेहरुबाट कोरोना संक्रमणको जोखिम बढेपछि भ्रमणमा रोक लगाउने निर्णय गरेका थिए । गाउँपालिले संक्रमणको जोखिम भएका बाह्य जिल्लाबाट आउने व्यक्तिहरुलाई समेत अनियबार्य रुपमा १४ दिन होम क्वारेनटाइनमा बस्न लगाउने निर्णय गरेको छ । कोरोना महामारीबाट बच्न र बचाउनका लागि घरबाहिर निस्कदा अनिबार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न समेत आह्वान गरिएको छ ।