मंगलाका जनप्रतिनिधिले दशैंभत्ता फिर्ता गर्ने, कोरोना अस्पतालमा परिचालन गरिने

  • ६ कार्तिक २०७७, बिहीबार
  • 1328 पटक पढिएको

म्याग्दी ६ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफुले बुझेको चाडपर्व भत्ता फिर्ता गर्ने भएका छन् । प्रदेश सरकारले बनाएको कानुनमा टेकेर कोरोना महामारीका समयमा समेत स्थानीय तहका जनप्रतिनिधिले दशैँ भत्ता बुझेपछि चौतर्फि आलोचना भएको थियो । मंगला गाउँपालिकामा चाडपर्व भत्ताको रुपमा जनप्रतिनिधिको खातामा रु ४ लाख ९८ हजार भत्ता पठाईएको थियो ।

ऐन अनुसार पालिकाको प्रशासन मार्फत जनप्रतिनिधिको खातामा दशैँ भत्ता पुगेपनि त्यसलाई फिर्ता गर्ने र गाउँपालिकामा निर्माण हुने कोरोना अस्पतालमा वेड क्षमता विस्तारमा परिचालन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

कोरोना अस्पतालमा बेड थप, अक्सिजन सिलिन्डरको खरिद सहित आवश्यक उपकरण खरिद गर्ने अध्यक्ष रोकाले बताउनुभयो । ‘दशैंभत्ता सुविधाको रुपमा खातामा गएको छ,‘हामीलाई ब्यक्तिगत सुविधाभन्दा जनताको स्वास्थ्य उपचार प्राथमिकता लागेर कोरोना कोषमा रकम फिर्ता गछौं’अध्यक्ष रोकाले भन्नुभयो ।

उहाँले नियम अनुसार खातामा रकम गैसकेपछि मात्रै जानकारी भएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रोका, उपाध्यक्ष सिर्जना केसी सहित कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले कोरोना महामारीका बेला दसैंमा भत्ता लिनु उचित नभएकाले रकमलाई फिर्ता गरि स्वास्थ्य क्षेत्रमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।