जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीको चाडपर्व सुविधा कोरोना कोषमा

  • ६ कार्तिक २०७७, बिहीबार
  • 1094 पटक पढिएको

म्याग्दी ६ कात्तिक । जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिलाई मासिक सुविधाको साथै हरेक बर्षमा एक पटक चाडपर्व भत्ता समेत दिने कानुन बनाएको छ । जिल्लामा समेत कोरोनाको संक्रमण बढ्दो देखिएको सन्दर्भमा आफुहरुले चाडपर्व वापत थप सुविधा लिनु उचित नदेखिएपछि सो रकमलाई कार्यालय मातहतमै कोष निर्माण गरि परिचालन गर्ने निर्णय गरिएको जिसस प्रमुख केसीले बताउनुभयो । जिसस प्रमुख देवेन्द्रबहादुर केसी, उपप्रमुख लोकबहादुर मल्ल र ७ जना सदस्य सहित ९ जना पदाधिकारीकै  चाडपर्व सुविधा कोषमा जम्मा गर्ने प्रतिबद्धता भएको छ ।

जिसस म्याग्दीका पदाधिकारीहरुलाई जाने चाडपर्व भत्ता बापतको रु २ लाख ३५ हजार रकम अब कोषमा जम्मा गरिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, पदाधिकारीको चाडपर्व भत्ता बापतको रकममा कार्यालयको आन्तरिक कोषबाट थप २ लाख ६५ हजार जम्मा गरि रु ५ लाखको कोष निर्माण गरिनेछ । उक्त कोरोना कोषबाट जिल्लामा कोरोना, नियन्त्रण, रोकथाम र उपचार तथा जनचेतना अभिवृद्धिको कार्यमा खर्चिने जनाईएको छ ।

यस म्याग्दीको रघुगंगा गाउँपालिका गाउँपालिका र बेनी नगरपालिकाका केहि जनप्रतिनिधिहरुले चाडपर्व बापत बुझेको भत्तालाई आ–आफ्नो पालिका मातहतमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न सुरु गरिसकेका छन् । कोरोना र बाढीपहिरोले संकटग्रस्त बनेको समयमा जनप्रतिनिधिले मासिक सुविधा सहित चाडपर्व भत्ताको नाममा दशैँ भत्ता लिन थालेपछि चौतर्फि आलोचना भएको थियो ।