बेनी नगरपालिका-६ का अति विपन्न परिवारमा काेरोना विमा गरिने
- ५ कार्तिक २०७७, बुधबार
- 1183 पटक पढिएको
म्याग्दी ५ कात्तिक । बेनी नगरपालिका-६ का अति विपन्न परिवारका सदस्यको कोरोना विमा गरिने भएको छ । महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न विभिन्न रचनात्मक कार्य गरिरहनुभएका वडा अध्यक्ष कृष्णसिङ बानियाँले ३० विपन्न परिवारका ६० जनाको कोरोना बिमाका लागि ब्यक्तिगत खर्चबाट सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
कोरोनाको संक्रमण समुदायमा फैलिने उच्च जोखिमलाई मध्यनजर गरी वडास्तरमा तथ्याङ्क संकलनको काम सुरु भएको अध्यक्ष बानियाँले बताउनुभयो ।
‘विपन्न सबैको कोरोना बिमा गर्ने अभियानमा छु,‘समुदायस्तरबाटै नाम संकलन गरी बिमा गरिने छ’ बानियाँले भन्नुभयो ।
वडाभित्रको समस्यालाई तत्कालै समाधान गर्न ब्यक्तिगत रुपमा १ लाखको कोष समेत रहेको छ । उक्त कोषबाट प्राकृतिक विपत्ती, उपचार लगायत वडाबासीको समस्यालाई समाधान गर्ने गरी ब्यक्तिगत, संस्थागत सहयोगबाट जम्मा गरिएको थियो ।
यसबीच वडा अध्यक्ष बानियाँले १० विपन्न परिवारलाई दशैं खर्च स्वरुप १ बोरा चामल समेत सहयोग गर्नुभएको छ ।