बेनी नगरपालिका–८ का वडा अध्यक्ष बराईलीद्धारा दशैँ भत्ता काेराेना काेषमा जम्मा गर्ने
- ५ कार्तिक २०७७, बुधबार
- 1249 पटक पढिएको
म्याग्दी ५ कात्तिक । कोरोना कहरका समयमा अर्थतन्त्र कमजोर बनेको अबस्थामा कोरोना नियन्त्रणमा चन्दा संकलन गर्ने र जनप्रतिनिधिले दशैँ भत्ता लिने कार्यको चौतर्फि आलोचना भैरहेका बेला बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले प्रदेश कानुन बमोजिम प्राप्त हुने चाडपर्व भत्ता आफुले नलिने घोषणा गर्नुभएको छ ।
बुधवार कार्यालयका कर्मचारी मार्फत चाडपर्व सुविधा भनेर प्रदेश सरकारले बनाएको ऐन अनुसारको नगरपालिकाका वडा अध्यक्षले पाउने रु २५ हजार भत्ता आफ्ना खातामा आएको जानकारी पाएलगत्तै आफुले सो रकम नलिने र नगरपालिकाकै कोरोना कोषमा जम्मा गर्ने निर्णय लिएको बताउनुभयो । उहाँले कोरोना महामारीको अबस्थामा जनप्रतिनिधिले चाडपर्व भत्ता बुझ्ने कुरा उचित नभएको भन्दै आफुले तत्काल नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा सो रकम जम्मा गर्ने तयारी गरेको बताउनुभयो ।
नगरपालिकाका प्रवत्ता समेत रहनुभएका उहाँले जनप्रतिनिधिले वैठक भत्ता लगायत मासिक रुपमा अन्य सुविधामा तोकेको सुविधा प्राप्त गरेकाले दशैँ भत्ता समेत लिनु उचित नदेखेपछि आफुले नलिने घोषणा गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता लिएको समाचार सार्वजनिक भएको थियो ।