धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक

  • २ कार्तिक २०७७, आईतवार
  • 857 पटक पढिएको

बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क संकलन गरेको हो । पहिरो पीडितको पुनस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा प्रदेश र संघ सरकारसंग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।

पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवनहरु भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थापनमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्ण रुपमा घरबार विहिन भएकाहरुको आवास पुननिर्माण गरिने र जोखिम र जिर्ण बनेका घरहरुको समेत मर्मत र आबश्यकता अनुसार पुननिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताउनुभयो । ‘‘ विनासकारी पहिरोले ठुलो क्षति पु¥याएको छ, अब आवास पुननिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबार विहिन भएकालाई सुरक्षित आवासको प्रवन्ध गर्ने हाम्रो योजना छ’’– अध्यक्ष पुनले भन्नुभयो ।

धवलागिरीको वडा न. ६ मराङमा २४, वडा न. ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरि कुल ६० घर पहिरोले पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासी बाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुननिर्माण गर्ने र मराङका पहिरो पीडितहरुको लागि भने एकिकृत बस्ति बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनभुयो ।

भूगर्भबिद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुननिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताउनुभयो । हालै सम्पन्न बिशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुननिर्माणका लागि ४९ लाख ७३ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ भने प्रकोप ब्यवस्थापन कोषमा पचास लाख रुपैयाँ छुट्टाएको प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो ।

प्रदेश र संघ सरकार तथा म्याग्दी प्रवासी नेपाली संघ(मोना), विभिन्न सहयोगदाताहरुसंग समन्वय गरि घरवार विहिन भएकाहरुको आवास पुननिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाले पहिरो पीडितहरुको सहयोगदार्थ सञ्चालन गरेको सहयोग संकलन अभियान अन्र्तगत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट ८ लाख र सहयोगदाताहरुबाट रु ४२ लाख सहयोग जुटेको छ ।