म्याग्दीमा समुदाय स्तरमा कोरोनाको जोखिम बढ्यो

  • १ कार्तिक २०७७, शनिबार
  • 1228 पटक पढिएको

म्याग्दी १ कात्तिक । म्याग्दीमा समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको छ । जिल्लाबाट बाहिर गएर पिसीआर जाँच गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुमा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको हो ।

संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका ९ जनाको असोज २८ गते स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाईएकोमा शनिवार आएको रिपोर्टमा मंगला गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगला गाउँपालिका–५ का २४ बर्षिय पुरुष र मंगला गाउँपालिका–४ की २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि बेनी नगरपालिका–७ घर भएका ४४ बर्षका भारतबाट आएर पोखरामा होटल क्वारेनटाइन बसेका पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीमा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । दशैँको अवसरमा बाहिरबाट गाउँ आउने र गाउँमा समेत अनाबश्यक कार्यमा एक ठाउँबाट अर्को ठाउँमा आवात जावत नगर्न गाउँपालिकाले आह्वान गरेको छ ।