इजरायलबाट विष्णु पुनमगरले विद्यार्थीलाई स्वास्थ्य साम्रागी सहयोग
- १ कार्तिक २०७७, शनिबार
- 984 पटक पढिएको
म्याग्दी १ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई इजरायलबाट मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु पुनमगरले ४० हजार बराबरको स्वास्थ्य साम्रागी वितरण गर्नुभएको छ ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई ६ सय थान कपडाको मास्क, एक दर्जन स्यानिटाईजर, १५ दर्जन डिटोल साबुन,मेडिकल पञ्जा, स्थानीयलाई मेडिकल मास्क सहयोगदाता पुनमगरको ९८ बर्षिय शिवलाल पुल, पिता लालु पुन, आमा हिमसरा पुनले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
वडा अध्यक्ष नरबहादुर पुनले समाजसेवी विष्णु पुनमगरले यसअगाडी पनि रुममा धेरै सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले वडाले समेत विद्यार्थीलाई वितरण गर्न नसकेको स्वास्थ्य साम्रागी ब्यक्तिगत रुपमै वितरण गर्नुभएको भन्दै अव नियमित पठनपाठनमा सहज हुने बताउनुभयो । सहयोग हस्तान्तरणको अवसरमा आयोजित कार्यक्रममा इजरायलबाट पुनमगरले भिडियो कलमार्फत समुदायमा विभिन्न कार्यक्रमहरुमार्फत आफ्नो नियमित उपस्थिती हुने प्रतिबद्धता जनाउनुभएको थियो ।
‘म टाढा भएपनि तपाईहरुको दुखसुखमा संगै छु,‘कोरोनाबाट जोगिन आवश्यक अन्य सहयोग गर्न पनि तयार छु’ पुनमगरले भन्नुभयो । कार्यक्रमको संयोजनकर्ता पत्रकार हरिकृष्ण गौतमले विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको अलमलको नितिले ग्रामिण क्षेत्रका विद्यालयमा समेत प्रत्यक्ष असर गरेको भन्दै स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर विद्यालयमै पढाउन सुरु गर्नुपर्ने बताउनुभयो ।
देउराली आधारभुत विद्यालय जेमका प्रअ पोष्ट विश्वकर्मा, ज्ञान विकास आधारभुत विद्यालय बेलीका प्रअ दिवाकर नगरकोटीले विद्यालयको गेटमै सावुनपानीले हात धुने, कक्षा कोठामा भौतिक दुरी कायम, मास्क र सेनिटाइजरको प्रयोग गरी दशैंलगत्तै विद्यालय सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षत ज्ञान विकासका विब्यस अध्यक्ष खड्क बहादुर विश्वकर्मा र सञ्चालन देउराली आधारभुत विद्यालयका शिक्षक तुलबहादुर पुनले गर्नुभएको थियो ।
.