काठमाडौंमा सिलिण्डर बिष्फोट हुँदा म्याग्दीका ६ जनासहित दर्जन बढी घाइते

  • २९ आश्विन २०७७, बिहीबार
  • 1020 पटक पढिएको

काठमाडौं २९ असोज । काठमाण्डौँ महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा म्याग्दीका ६ जना सहित  ११ जना मानिसहरु घाइते भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् ।

बुधबार निधन भएका पतिको काजक्रियामा बसेकी निरकुमारीले प्रयोग गरेको ग्यास लिक भएर घरमा रहेका २ वटा सिलिण्डर विस्फोट भएको हो । विस्फोटमा परी किरीयापुत्री भेट्न आएका आफन्त म्याग्दी बेनीका चन्द्र केसीको खुट्टामा र बावियाचौरका नरसिंह केसीको टाउकोमा चोट लागेको बताईएको छ ।

विस्फोटबाट क्षत्रीको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छिमेकीको घरमा समेत क्षति पुगेको छ । विस्फोटबाट तीन सय मिटर परसम्म रहेका मानिसहरुसमेत सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मनमोहन अस्पताल र शिक्षण अस्पताल लगिएको छ ।