नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी दर्ता
- २७ आश्विन २०७७, मंगलवार
- 1558 पटक पढिएको
म्याग्दी २७ असोज । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दी जेसीज २०२० को शाखा अध्यक्ष समेत रहनुभएका बरुवालले जेसीजले अनलाइन मार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले शाखा अध्यक्ष बरुवाललाई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार बनाउन गरेको निर्णय दोस्रो साधारण सभाले अनुमोदन गरेपछि बरुवालले औपचारिक रुपमा अनलाइन मार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी पुस १ देखि ४ गतेसम्म भलवारी जेसीजको आतित्यथामा बुटवलमा तय भएको नेपाल जेसीजको ४७ औँ राष्ट्रिय महाधिवेशनका लागि अक्टोवर ५ देखि नोभेम्बर १ तारिकसम्म अनलाइन मार्फत मनोनयन दर्ता आह्वान गरिएको छ ।
सन २०१४ मा म्याग्दी जेसीजको साधारण सदस्यका रुपमा जेसीज अभियानमा प्रवेश गर्नुभएका बरुवाल सन २०१७ मा शाखाको उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित हुँदै यस बर्ष शाखाको नेतृत्व सम्हाल्नुभएको छ ।
कार्यक्रम संयोजक लगायतका जेसीज गतिविधिमा संलग्न भएर थुप्रै अवार्डहरु समेत प्राप्त गरिसक्नुभएका बरुवालले युवाहरुकै क्षेत्रमा थप रचनात्मक कार्यहरु गर्नको लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।
नेपाल जेसीजमा यस अघि सन २०१५ मा म्याग्दीबाट धनञ्जयकुमार श्रेष्ठले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवार बनेर बिजय हाँसील गर्नुभएको थियो । नेपाल जेसीजमा १ अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि निर्वाचन हुने गर्छ । हरेक बर्ष नेतृत्व हस्तान्तरण हुने जेसीजमा एक व्यक्ति एक पदमा एक पटक मात्रै रहन पाउने प्रावधान रहेको छ ।