म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • २३ आश्विन २०७७, शुक्रबार
  • 919 पटक पढिएको

म्याग्दी २३ असोज । म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर माउण्ट एभरेष्टको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका– २ की २८ बर्षिया महिला, १० बर्ष र ८ बर्षका दुई बालक, दुबइबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका–९ का २४ बर्षिय पुरुष र बाहिर जिल्लाबाट आएर नेपाली सेनाको क्वारेनटाइनमा बसेका ३८ र ३६ बर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र आइसोलेसनमा सार्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना निको भएर घर फर्किसक्नुभएको छ । जिल्लामा हालसम्म १६५२ वटा नमुना संकलन गरि पिसीआर परिक्षण गरिएको छ ।