शून्य दरबन्दीका मावि तहका विद्यालयमा गाउँपालिकाद्धारा शिक्षक व्यवस्थापन
- २३ आश्विन २०७७, शुक्रबार
- 834 पटक पढिएको
म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा मावि तह सञ्चालन गरेका विद्यालयलाई शिक्षक ब्यवस्थापन गर्न लागेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना अन्तर्गत कार्यपालिका बैठकको निर्णय अनुसार पहिलो चरणमा शून्य दरबन्दिमा मावि तह सञ्चालन भएका विद्यालयमा गाउँपालिकाले करारमा बिषगत शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढाएको हो ।
गाउँपालिकाको वडा नम्बर १ मा रहेको कालिका मावि वडा नम्बर ३ को पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि, वडा नम्बर ४ मा रहेको जनता मावि र वडा नम्बर ८ मा रहेको रितुङ माविमा १/१ जना शिक्षक करारमा नियुक्त गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।
गाउँसभा मार्फत नै शुन्य दरबन्दीका विद्यालयहरुमा शिक्षक व्यवस्थापनको लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले आबश्यकताका आधारमा करार अवधिलाई थप गर्दै लगिने समेत जानकारी दिनुभयो । विद्यालयहरुले आबश्यकताका आधारमा माग गरे बमोजिम बिषयगत शिक्षकहरुको लागि दरखास्त समेत आह्वान गरिसकिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । कालिकामा विज्ञान, रघुगंगा र रितुङमा अंग्रेजी र ज्ञानोदय र जनतामा गणित बिषयको माध्यमिक तहको शिक्षकको दरखास्त आह्वान गरिएको छ ।