तोरीपानीको फाँटमा व्याबसायिक तरकारी खेती, मेहनतले फस्टाएको पौरख (फोटो फिचर)

  • २२ आश्विन २०७७, बिहीबार
  • कमल खत्री
  • 3231 पटक पढिएको

म्याग्दी २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको समथर फाँटबाट देखिने धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको मनमोहक दृष्यले लोभ्याउछ । अझ यहाँका पौरखी कृषकहरुले गरेको तरकारी खेती झनै रहरलाग्दो छ । टिमुर गाउँको रुपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीको लहर पनि छ ।


परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएका कृषक भद्रबहादुर बानियाँले मेहनत र परिश्रम गर्न सके माटोमै पसिना बगाएर सहज जिवनयापन गर्न सकिने सन्देश दिनुभएको छ । जिविकोपार्जनका लागि बर्षौदेखि तरकारी खेतीमा जोडिएपनि बानियाँले केहि बर्षयता तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएको हो ।


२ रोपनी बढी बारीमा तरकारी खेती गर्नुभएका उहाँले ‘बानियाँ तरकारी फर्म’ नै दर्ता गरि पेशालाई व्यावसायिक बनाएको बताउनुभयो । बानियाँको फर्ममा अहिले दुई वटा टनेलमा गोलभेडा र अन्य जग्गामा बन्दा, काउली, साग, खुर्सानी, आलु खेती गरिएको छ । बर्खे तरकारी, सिमी, घिरौँला, करेला, बोडी, काँक्रो समेत विक्रि गरिसकेको कृषक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, गोलभेडा प्रतिकिलो रु ९० र बन्दा रु ५० मा विक्रि हुने गर्छ । ‘‘तरकारी खेतीमा लागेको १० बर्ष पुग्यो, अहिलेसम्म कतैबाट पनि सहयोग मिलेको छैन, तालिम, बिउबिजन केहि सहयोग पाएको छैन, आफ्नै जोडवलमा अघि बढेको छु’’–बानियाँले भन्नुभयो ।


सुरुमा पानी प्लाष्टिकलाई घरमै जोडेर सानो टनेल बनाएर गोलभेडा खेती सुरु गरेको स्मरण गर्दै बानियाँले भन्नुभयो–‘‘ अहिले टनेलमा मात्रै करिब ९० हजार खर्चिएको छु’’ तरकारी खेतीबाट बार्षिक २ लाख बढी आम्दानी हुने उहाँको अनुभव छ । नयाँ प्रविधिलाई जोड्न सके आम्दानी राम्रो हुने भएपनि बानियाँका लागि लगानीको अभाब रहेको छ । ‘‘बर्षौ बितेछ यहि माटोमा पसिना बगाएर, नयाँ प्रविधिको प्रयोग र तालिमको अनुभव गर्न पाएको छैन, माटोसंग खेलेर कमाउने भन्दापनि रमाउने नै हो, यसबाट म आफु सन्तुष्ट छु’’– उहाँले भन्नुभयो । यस फर्ममा टिमुरका विरुवा समेत उत्पादन गरि विक्रि हुँदै आएको छ । फर्ममा उत्पादन भएको तरकारीलाई सदरमुकाम बेनी पठाउने गरेको उहाँकी पत्नी मनकुमारीले बताउनुभयो ।


‘‘पहिलेत डोकोमा तरकारी बोकेर गाउँ गाउँ डुल्नुपथ्र्यो, अहिले सडकको पहुँचले घरबाटै गाडीमा राखेर बजार पठाउन सक्के सुविधा छ, बजारको अभाब नभएपनि मेहनत अनुसारको मुल्य नपाउने समस्या सुल्झेको छैन’’– उहाँले भन्नुभयो । भद्रबहादुरको दाइ भाउजु गुमानसिंह र यसोदा बानियाँ पनि तरकारी र विरुवा नर्सरीमै आबद्ध हुनुहुन्छ । एउटै फाँटमा दाजुभाइको तरकारी खेती निकै रहरलाग्दो छ ।

तरकारी खेती र नर्सरीबाट बार्षिक ३ लाखसम्म आम्दानी हुने बानियाँको भनाई छ । तरकारी खेतीमा रोगकिराको उपचारमा गाइभैँसीको गहुत र पानि मिसाएर प्रयोग गर्दै आएको उहाँहरुको भनाई छ । सञ्जिवनी बहुउदेश्यी नर्सरी स्थापना गर्नुभएका बानियाँले टिमुर संगै सुन्तला र कागतीका विरुवा समेत उत्पादन गरि विक्रि गर्दै आउनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l